आईसीसी टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। प्रतियोगिताको यो महत्वपूर्ण खेल भारतको इडेन गार्डेन मैदानमा बुधबार साँझ ७:१५ बजे सुरु हुनेछ।
समूह चरणमा चारै खेल जित्दै समूह ‘डी’को विजेता बनेर सुपर–८ मा प्रवेश गरेको दक्षिण अफ्रिका हालसम्म अपराजित छ। सुपर–८ को समूह १ मा रहेको दक्षिण अफ्रिकाले पहिलो खेलमा भारतलाई ७६ रनले हराएको थियो। दोस्रो खेलमा वेस्ट इन्डिजलाई ९ विकेटले पराजित गरेको दक्षिण अफ्रिकाले अन्तिम खेलमा जिम्बावेलाई पाँच विकेटले हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो।
यता न्युजिल्यान्ड भने उतारचढावपूर्ण प्रदर्शनका बीच सुपर–८ हुँदै सेमिफाइनलसम्म पुगेको हो। समूह चरणका चार खेलमध्ये तीन जित र एक हार व्यहोरेको न्युजिल्यान्डले सुपर–८ मा अंक बाँडेकै आधारमा अन्तिम चारमा स्थान बनाएको हो।
सुपर–८ को पहिलो खेल पाकिस्तानविरुद्ध वर्षाले अवरुद्ध भएपछि एक–एक अंक बाँडिएको थियो। त्यसपछि सह–आयोजक श्रीलंकालाई ६१ रनले पराजित गरेको न्युजिल्यान्ड अन्तिम खेलमा भने इंग्ल्यान्डसँग चार विकेटले पराजित भएको थियो।
समूह १ को विजेता बन्दै दक्षिण अफ्रिका सेमिफाइनल पुगेको हो भने समूह २ को उपविजेताका रूपमा न्युजिल्यान्डले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। अपराजित यात्राका कारण दक्षिण अफ्रिका कागजी रूपमा बलियो देखिए पनि न्युजिल्यान्डले ठूला प्रतियोगितामा चमत्कारिक प्रदर्शन गर्ने इतिहास बोकेको टोली हो।
दोस्रो सेमिफाइनलमा बिहीबार भारत र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। टी–२० विश्वकपको फाइनल आइतबार आयोजना गरिने छ।
















