परिणाम अनुकूल भएन, जनताको निर्णय सर्वोपरि : महेश बस्नेत

Image

भक्तपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले जनताको निर्णयलाई सम्मानपूर्वक स्वीकार्ने बताएका छन्। शनिबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले जनताको निर्णयलाई सर्वोवरि भन्दै स्वीकार्ने बताएका हुन्।

‘यसपटकको परिणाम हाम्रो अनुकूल हुन सकेन, तर लोकतन्त्रमा जनताको निर्णय नै सर्वोपरि हुन्छ भन्ने विश्वासका साथ त्यसलाई सम्मानपूर्वक स्वीकार गर्दछु। विजयी राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार राजिब खत्रीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु,’ उनले भनेका छन्।

उनले राजनीतिमा हार-जित स्वाभाविक प्रक्रिया भएको बताए। ‘राजनीतिमा हार–जित स्वाभाविक प्रक्रिया हो। तर जनताको सेवा गर्ने हाम्रो प्रतिबद्धता कहिल्यै हार्दैन। अब हाम्रो भूमिका रचनात्मक प्रतिपक्षको हुनेछ। जनताको शिक्षा, स्वास्थ्य, रोजगारी, भ्रष्टाचारमुक्त सुशासन र समृद्ध समाज निर्माणका लागि सदन बाहिरबाट पनि निरन्तर आवाज उठाइरहनेछौं,’ उनले लेखेका छन्।

भक्तपुर-२ मा रास्वपाका राजिब खत्रीले ३३ हजार १३ मत प्राप्त गरी जित सुनिश्चित गरेका छन्। बस्नेतले ८०३४ मत प्राप्त गरेका छन्।