इजरायललाई १५१.८ मिलियन डलर बराबरको सैन्य सामग्री बिक्री गर्न अमेरिकाको स्वीकृति

Image

अमेरिकी विदेश मन्त्रालयले इजरायललाई करिब १५१.८ मिलियन अमेरिकी डलर बराबरको हतियार तथा सैन्य सहयोग बिक्री गर्न स्वीकृति दिएको जनाएको छ।

विदेश मन्त्रालयका अनुसार अमेरिकी विदेशमन्त्रीमार्को रुबियोले इजरायललाई तुरुन्त सैन्य सामग्री उपलब्ध गराउनुपर्ने आपतकालीन अवस्था रहेको निष्कर्ष निकाल्दै बिक्री प्रक्रिया स्वीकृत गरेका हुन्।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त बिक्रीले संयुक्त राज्य अमेरिकाको वैदेशिक नीति र राष्ट्रिय सुरक्षालाई सहयोग पुग्ने उल्लेख गरिएको छ। विज्ञप्तिमा इजरायललाई मध्यपूर्वमा राजनीतिक स्थिरता र आर्थिक प्रगतिमा महत्वपूर्ण भूमिका खेल्दै आएको रणनीतिक क्षेत्रीय साझेदारका रूपमा वर्णन गरिएको छ।

स्वीकृत गरिएको आपतकालीन प्याकेजमा BLU-110A/B प्रकारका सामान्य प्रयोजनका बम, साथै तिनको लजिस्टिक व्यवस्थापन र प्राविधिक सहयोग सेवा समावेश गरिएको जनाइएको छ।

अमेरिकाले मध्यपूर्वमा जारी तनावका बीच आफ्नो महत्वपूर्ण सुरक्षा साझेदारको क्षमता बलियो बनाउन यो निर्णय गरिएको जनाएको छ।