भदौ २३ र २४ मा भएको जेनजी जनआन्दोलनको घटनाबारे अध्ययन गर्न गठन गरिएको छानबिन आयोगले आफ्नो प्रतिवेदन भोलि सरकारलाई बुझाउने भएको छ। पूर्व न्यायाधीश गौरीबहादुर कार्की को अध्यक्षतामा गठित आयोगले आइतबार बिहान ११ बजे प्रधानमन्त्री सुशीला कार्की लाई प्रतिवेदन बुझाउने तयारी गरेको हो।
प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार राम रावलका अनुसार आयोगले आफ्नो कार्यकालको अन्तिम दिन प्रतिवेदन बुझाउन लागेको हो। आयोगलाई दिइएको समयावधि पनि आइतबार नै सकिँदैछ।
जेनजी जनआन्दोलनका क्रममा भएका घटनाबारे सत्यतथ्य छानबिन गर्न अन्तरिम सरकारको मन्त्रिपरिषद्ले असोज ५ गते उक्त आयोग गठन गर्ने निर्णय गरेको थियो। त्यसअनुसार पूर्व न्यायाधीश कार्कीको नेतृत्वमा आयोग गठन गरिएको थियो।
तर प्रारम्भिक समयसीमाभित्र आयोगले अनुसन्धान कार्य पूरा गर्न नसकेपछि सरकारसँग थप समय मागिएको थियो। आयोगको काम अधुरो रहेको भन्दै सरकारले फागुन २४ गतेसम्मका लागि समय थप गरेको थियो।
यसबीच जेनजी आन्दोलनसँग सम्बन्धित विभिन्न पक्षहरूले प्रतिवेदन छिटो सार्वजनिक गर्न माग गर्दै आएका थिए। विशेषगरी जेनजी आन्दोलनका प्रतिनिधि र विभिन्न राजनीतिक दलका नेताहरूले निर्वाचनअघि नै प्रतिवेदन सार्वजनिक गर्न दबाब दिएका थिए।
प्रधानमन्त्री कार्कीले पनि आयोगले प्रतिवेदन बुझाएलगत्तै त्यसलाई कार्यान्वयनको प्रक्रियामा लैजाने बताउँदै आएका छन्। अब आयोगको प्रतिवेदनले जेनजी जनआन्दोलनका क्रममा भएका घटनाबारे वास्तविकता सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
















