मुख्यमन्त्री यादवविरुद्ध जनमतको ह्वीप, विश्वासको विपक्षमा मतदान गर्न सांसदलाई निर्देशन

Image

जनमत पार्टीले मधेश प्रदेश सरकारविरुद्ध आफ्ना सांसदलाई विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

शुक्रबार बसेको जनमत संसदीय दलको बैठकले मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव ले लिने विश्वासको मतको विपक्षमा अनिवार्य उपस्थित भएर मतदान गर्न सांसदहरुलाई निर्देशन दिएको हो ।

जनमत संसदीय दलका नेता चन्दनकुमार सिंह द्वारा जारी गरिएको निर्देशनपत्रमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा २८ को उपदफा १ (क) अनुसार विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरिएको उल्लेख छ ।

यसअघि गत वैशाख २१ गते जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । तर पार्टीले समर्थन फिर्ता लिए पनि जनमतका अर्थमन्त्री महेश प्रसाद यादव तथा समाज कल्याण तथा खेलकुद मन्त्री बसन्त कुशवाहा भने अझै पदमै रहेका छन् ।

पार्टीभित्रको आन्तरिक विवादका बीच जनमतले संसदीय दलको नेताबाट महेश प्रसाद यादवलाई हटाएर चन्दनकुमार सिंहलाई जिम्मेवारी दिएको थियो ।

१०७ सदस्यीय मधेश प्रदेश सभामा जनमत पार्टीका हाल १२ सांसद रहेका छन् ।