नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले राजसंस्थासहित सर्वपक्षीय भेलाबाट अहिलेको समस्याको समाधान खोज्नुपर्ने बताएका छन् ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर नेता श्रेष्ठले लोकतन्त्रको नाममा राजनीतिक दललाई एनजिओद्वारा विस्थापित गर्न प्रपञ्च हुँदै गरेको बताउदै राजसंस्थालगायत परम्परागत शक्ति, राजनीतिक दल, जेन-जी आन्दोलनका फरक मत राख्ने सबै शक्तिहरूलाई समेटेर सर्वपक्षीय संवादको आवश्यकता रहेको बताएका हुन् । उनले भने- ‘हामीले पाठ सिकेर राजनीतिक दलहरूले निषेधको राजनीति त्यागेर सहकार्य गरेर अघि बढ्नुपर्छ । राजसंस्थालगायत परम्परागत शक्ति, राजनीतिक दल, जेन-जी आन्दोलनका फरक मत राख्ने सबै शक्तिहरूलाई समेटेर सर्वपक्षीय संवादको आवश्यकता छ ।’
नेता श्रेष्ठले सर्वपक्षीय भेला गरेर समाधान निकाल्न ढिला गर्न नहुने बताउदै यसका लागि आफुले सक्रिय भूमिका खेल्ने बताएका छन् । आफु माओवादीसँगको शान्ति सम्झौताको समेत हस्ताक्षरकर्ता भएको बताउदै श्रेष्ठले सबै दललाई एक ठाउमा आउन आग्रह समेत गरेका छन् ।
उनले हाल काँग्रेसमा जारी महाधिवेशनको विवादका बिचमा चैतभित्र नियमित महाधिवेशन गर्न प्रस्ताव समेत गरेका छन् । उनले मंसिरमा नियमित महाधिवेशन गर्न सम्भव नहुने बताउदै विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गर्ने महाधिवेसन प्रतिनिधिको पनि सम्मान गर्दै समाधान खोजिनुपर्ने बताए ।