नेकपा (माओवादी केन्द्र)का सचिवालय सदस्य एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले २१ फागुनमा निर्धारित निर्वाचन सफल पार्नुको विकल्प नरहेको बताएका छन्।
भक्तपुरमा आयोजित चियापान कार्यक्रममा पुनले निर्वाचन सफल पार्न आफ्नो पार्टीले सरकारलाई सहयोग गर्ने बताए। उनले कांग्रेस र एमालेसहितका दललाई पनि चुनावका लागि तयार हुन आग्रह गरे।
‘संविधानलाई सही बाटोमा ल्याउन घोषित मितिमा चुनाव सम्पन्न गर्नुको विकल्प छैन,’ पुनले भने, ‘हामी चुनावका लागि प्रतिबद्ध छौं र अरु दललाई पनि चुनावको पक्षमा उभिन आग्रह गर्छौं।’
केही दिनअघि आफू र नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा माओवादी निर्वाचनको पक्षमा रहेको स्पष्ट गरेको जानकारी पुनले दिए ।
‘प्रधानमन्त्रीले हामीलाई बोलाउनुभएको थियो। नारायणकाजी कमरेड म गएका थियौं। हामीले भन्यौं, चुनावको पक्षमा छौं। हामी चुनावको वातावरण बनाउछौं तर अरुका लागि पनि चुनावी वातावरण बनाउन लाग्नुस् भनेका थियौं,’ पुनले भने ।