बङ्गालको खाडीबाट उत्पन्न भएको चक्रवाती आँधी मोन्था मंगलबार साँझ भारतको आन्ध्र प्रदेशको तटमा ठोक्किएको छ । मछलीपट्टनम र कलिंगपट्टनमको बिचमा काकीनाडा हुँदै १०० किलोमिटर प्रतिघण्टाको गतिमा आएको हावाले धेरै क्षेत्रमा घर र रूखहरू ढलेको छ, जसका कारण एक महिलाको मृत्यु भएको छ । मौसम विभागका अनुसार, मोन्था बुधवार बिहान ओडिशा पुग्ने अनुमान गरिएको छ ।
मौसम विभागले मंगलबार बिहान मोन्था तीव्र चक्रवाती आँधीमा परिणत भएको बताएको थियो । यसले आन्ध्र प्रदेश, तमिलनाडु, ओडिशा र पश्चिम बङ्गालको तटीय क्षेत्रहरूमा ठुला छालहरू र भारी वर्षा निम्त्याएको छ र तीव्र हावा चलिरहेको छ । यसका कारण कम्तीमा ५२ उडानहरू रद्द गरिएका छन् र पछिल्लो २४ घण्टामा १२० रेलहरू रद्द गरिएका छन् । आन्ध्र प्रदेशका एक प्रहरी अधिकारीले कोनासीमा जिल्लाको मकानागुडेम गाउँमा आँधीका कारण खजूरको रूख ढलेपछि एक महिलाको मृत्यु भएको बताएका छन् । राज्यमा ३८ हजार हेक्टरमा खडा बाली र १.३८ लाख हेक्टरमा बागवानी बाली नष्ट भएको छ । लगभग ७६ हजार मानिसहरूलाई राहत शिविरहरूमा सारिएको छ ।
मोन्थाले ओडिशाका १५ जिल्लाहरूमा सामान्य जीवन अस्तव्यस्त पारेको छ । मोथ्नासँग जुध्न तयार रहेको ओडिशा सरकारले पहिले नै ८०० राहत केन्द्रहरू स्थापना गरिसकेको छ । तटीय क्षेत्रहरूमा एनडीआरएफ टोलीहरू पनि पूर्ण रूपमा तयार छन् । मोन्थाको कारण राहत र उद्धार कार्यका लागि पैँतालिस टोलीहरू खटाइएको छ । यसमा आन्ध्र प्रदेशमा १०, ओडिशामा ६, तमिलनाडु र तेलंगानामा ३-३, छत्तीसगढमा २ र पुडुचेरीमा १ टोली समावेश छन् । मानिसहरूलाई समुद्र नजिक नजान सल्लाह दिइएको छ। चक्रवात प्रभावित क्षेत्रहरूमा बुधवार बिहानसम्म सडकहरूमा सवारी साधनको आवागमन स्थगित गर्ने निर्णय गरिएको छ ।
भारतको केन्द्रीय सरकारले चक्रवात ‘मोन्था’ को तयारीको समीक्षा गरेको छ, स्वास्थ्य मन्त्रालयले आन्ध्र प्रदेश, ओडिशा र तमिलनाडुका वरिष्ठ अधिकारीहरूसँग आपत्कालीन चिकित्सा सहायता उपायहरूबारे छलफल गरेको बताएको छ । मन्त्रालयले कुनै पनि आपत्कालीन अवस्थामा तुरुन्त चिकित्सा प्रतिक्रिया सुनिश्चित गर्न राज्यहरूलाई आवश्यक सबै सहयोग प्रदान गरिने बताएको छ।
भारत मौसम विज्ञान विभागका अनुसार, ‘मोन्था’ मंगलबार राति माछिलपट्टनम र कलिंगपट्टनम बिचको आन्ध्र प्रदेश र यानम तट पार गर्दै काकीनाडाको दक्षिणमा अवतरण पूरा गरेको छ । विभागले गम्भीर चक्रवात आँधी अर्को छ घण्टा भित्र कमजोर हुँदै मध्यम चक्रवात आँधीमा परिणत हुने बताएको छ ।















