कीर्तिपुरमा खोलामा खसेर बेपत्ता भएका प्रह्लादको खोजीमा कुकुर परिचालन

कीर्तिपुरका प्रह्लाद महर्जनको खोजीमा कुकुर परिचालन गरिएको छ ।

१७ असोजको बिहान साढे ८ बजेतिर कीर्तिपुर नगरपालिका–७ नयाँ बजारस्थित तिन्सी खोलामा बेपत्ता भएका महर्जनको खोजीमा कुकुर परिचालन गरिएको हो । तिन्सी खोला किनारको बारीमा काम गर्ने क्रममा डिलबाट लडेर प्रह्लाद खोलामा खसेका थिए ।

उनको खोजी गर्न मंगलबार कीर्तिपुरमा तालिम प्राप्त कुकुर परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

नेपाल प्रहरी केनाइन शाखाबाट डिएसपी वासुदेव सुवेदीको कमाण्डमा दुई वटा कुकुरसहितको टोली तिन्सी खोलामा पुगेको हो । उनको खोजी गर्न नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली पनि खटिएको थियो ।