अमेरिका र इरानबीच नयाँ चरणको वार्ताको तयारी भइरहेका बेला खाडी क्षेत्रमा सुरक्षा तनाव फेरि बढेको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले मंगलबार बिहान कुवेतस्थित अमेरिकी सैन्य अखडालाई लक्ष्य गर्दै कम्तीमा तीनवटा ड्रोन आक्रमण गरेको दाबी गरिएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त आक्रमणबाट भएको क्षति वा मानवीय हताहतबारे भने अहिलेसम्म कुनै आधिकारिक पुष्टि भएको छैन। अमेरिकी वा कुवेती अधिकारीहरूले पनि घटनाबारे विस्तृत प्रतिक्रिया सार्वजनिक गरेका छैनन्।
यता, बेलायतको यूके म्यारिटाइम ट्रेड अपरेसन्स (UKMTO) ले ओमानको तटनजिक एउटा मालवाहक जहाज अज्ञात प्रक्षेप्यास्त्रको आक्रमणमा परेको जनाएको छ। होर्मुज जलमार्ग नजिकै ओमानको खसाबबाट करिब ३७ किलोमिटर उत्तर–पूर्वमा रहेको जहाजलाई लक्षित गरी आक्रमण भएको बताइएको छ।
प्रक्षेप्यास्त्र कसले प्रहार गरेको हो र जहाजमा कति क्षति पुगेको छ भन्ने विषयमा हालसम्म स्पष्ट जानकारी सार्वजनिक भएको छैन। घटनाको अनुसन्धान सुरु गरिएको जनाउँदै यूके म्यारिटाइम ट्रेड अपरेसन्सले उक्त समुद्री मार्ग प्रयोग गर्ने सबै जहाजलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता गर्न अझै अवसर रहेको तर वार्ता असफल भए अमेरिका सैन्य कारबाहीबाट पछि नहट्ने चेतावनी दिएका छन्।
ट्रम्पले इरानले सार्वजनिक र निजी रूपमा फरक–फरक सन्देश दिइरहेको आरोप लगाउँदै सार्वजनिक रूपमा प्रत्यक्ष वार्ता अस्वीकार गरे पनि गोप्य रूपमा अमेरिकासँग संवादको प्रयास भइरहेको दाबी गरेका छन्।
आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मार्फत ट्रम्पले इरानले होर्मुज जलमार्गमाथि नियन्त्रण रहेको दाबी गरे पनि वास्तविक नियन्त्रण अमेरिकी नौसेनाको हातमा रहेको उल्लेख गरेका छन्। उनले अमेरिकाको नाकाबन्दीबिना इरानसम्म कुनै पनि सामग्री पुग्न नसक्ने दाबी गर्दै इरानले सम्झौता गर्नुपर्ने, अन्यथा त्यसको परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिएका छन्।
अमेरिका–इरान सम्बन्ध फेरि तनावपूर्ण बन्दै जाँदा खाडी क्षेत्रको सुरक्षा अवस्था र अन्तर्राष्ट्रिय ऊर्जा बजारमा यसको प्रभावबारे विश्व समुदायको चासो बढेको छ।















