काठमाडौँ – ४ मंसिरको निर्वाचनबाट चुनिएर आएका प्रदेशसभा सांसदहरुले शपथ लिएसँगै आजदेखि देशका सातै प्रदेशसभाका बैठक सञ्चालन हुने भएका छन्। आज एकै दिन ६ वटा प्रदेशसभाको पहिलो बैठक बस्दैछ।
बागमती प्रदेशसभाको पहिलो बैठक दिउँसो १ बजे बैठक बस्न लागेको हो। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी , नेपाल मजदुर किसान पार्टी , हाम्रो नेपाली पार्टीसमेत गरी ११० जना प्रदेशसभाका सदस्यहरुको प्रदेशसभामा प्रतिनिधित्व छ।
६० सदस्यीय गण्डकी प्रदेश सभाको बैठक दिउँसो ३ बजेदेखि प्रदेश सभा भवन नदीपुरमा सुरु हुनेछ। गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा माओवादी केन्द्रको ८, राप्रपाको २ र नेकपा एकीकृत समाजवादीका एक सांसद रहेका छन्। गण्डकीमा सत्ता साझेदार दलको बहुमत छ। एमालेको २२, माओवादीको ८ र राप्रपाको २ सांसद रहेकाले सरकार बनाउन सहज छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सभाको पहिलो अधिवेशन दिउँसो १ बजे सुरु हुँदैछ। लुम्बिनी प्रदेशसभाको बैठक पहिलो पटक स्थायी राजधानी दाङको राप्ती उपत्यका देउखुरीमा बस्दा सुदूरपश्चिम प्रदेश सभाको बैठक प्रदेशको अस्थायी राजधानी धनगढीमै बैठक बस्नेछ।
अधिवेशनसँगै सभामुख र उपसभामुख चयनको लागि बाटो खुल्ने छ। पहिलो बैठक बसेको मितिले १५ दिन भित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ। संविधानको धारा १८२ ले व्यवस्था गरेको अवधिभित्र सभामुखको निर्वाचन हुने उल्लेख छ।
प्रदेश नम्बर १ को पहिलो बैठक भने आइतबार बसिसकेको छ भने दोस्रो बैठक २५ गतेलाई बोलाइएको छ। प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि एक साताको समय दिएर दाबी पेश गर्न आह्वान गरिसकेका छन्।
नेपालको संविधानको धारा १६८ को उपधारा (१) अनुसार प्रदेश नम्बर १ को प्रदेशसभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नभएकाले धारा १६८ को उपधारा (२) अनुसार प्रदेश १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश १ को सभाको सदस्यलाई प्रदेश १ को मुख्यमन्त्री नियुक्ति गर्न प्रदेश प्रमुखबाट आह्वान भएको छ।