एजेन्सी– यसै साता नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी र बिटकोइन लगायतका गैरकानुनी कारोबार हुने वेबसाइट, एप र अनलाइन सञ्जालमा पहुँच रोक्न निर्देशन दिएपछि उक्त भर्चूअल मुद्राबारे नेपालमा फेरि बहस हुन थालेको छ। भर्चूअल मुद्रा र नेटवर्क मार्केटिङ लगायतका डिजिटल प्रविधिमार्फत् हुने कारोबार नेपालमा पछिल्लो समय बढ्दै गएको प्राधिकरणको निर्देशनमा उल्लेख छ।
“क्रिप्टोकरेन्सी, बिटकोइन, हाइपर–नेटवर्किङ, अनलाइन जुवा लगायतका गैरकानुनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट, एप, अनलाइन सञ्जाललगायत भर्चूअल माध्यमको नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउनेगरी तथा त्यस्ता वेबसाइट, एप वा अनलाइन सञ्जालमा पहुँच हुन नसक्ने व्यवस्था गर्न सबै इन्टरनेट सेवाप्रदायकलाई निर्देशन जारी गरिएको छ।”
नेपाल राष्ट्र बैंकको आग्रहमा आफूहरूले इन्टरनेट सेवाप्रदायकहरूलाई पछिल्लो निर्देशन दिएको प्राधिकरणका उपनिर्देशक अच्युतानन्द मिश्रले बताए।विसं २०७४ सालमै क्रिप्टोकरेन्सीसम्बन्धी कारोबारलाई अवैध घोषणा गरिसकेको नेपाल राष्ट्र ब्याङ्कले त्यसको कारोबार नगर्न सूचना जारी गर्दै आएको छ।
नेपालमा जस्तै बाङ्ग्लादेश, चीन, कतार, मोरक्को, इराक, इजिप्ट, अल्जेरिया र ट्यूनिशियामा पनि क्रिप्टोकरेन्सी पूर्ण रूपमा प्रतिबन्धित रहेको बताइन्छ।कोइनडेस्क नामक बेवसाइटका अनुसार सन् २०२२ को ग्लोबल क्रिप्टो एडप्शन इन्डेक्सको आधारमा नेपाल क्रिप्टोकरेन्सीको कारोबारमा विश्वभरि १६औँ स्थानमा देखिएको छ। यूके र इन्डोनेशियाजस्ता देशहरू नेपालभन्दा मुनि छन्।
यसले नेपालमा प्रतिबन्धित भए पनि क्रिप्टोकरेन्सीसँग सम्बन्धित गतिविधि धेरै रहेको सङ्केत गर्छ।ब्लकचेनसम्बन्धी डेटा विश्लेषण गर्ने कम्पनी ‘चेनएनलिसिस’ले उक्त इन्डेक्स प्रकाशित गरेको हो। उक्त कम्पनीका अनुसार उसले विश्वका ७० वटाजति मुलुकमा सरकारी तथा आर्थिक निकायका लागि डेटा, अनुसन्धान सहितको सेवा प्रदान गर्दै आएको छ।













