रिहा भए नागरिक उन्मुक्तिका सांसद अरूण चौधरी

काठमाडौँ – कैलाली कारागारमा रहेका सांसद अरूण चौधरी रिहा भएका छन्। आइतबार बिहान उनी कैलाली जिल्ला कारागारबाट रिहा भएका हुन्।

कारागारबाट निस्किएपछि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसहित नेता, कार्यकर्ताले उनलाई फूलमाला लगाएर स्वागत गरेका थिए।

प्रजातन्त्र दिवसको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय मिनाहा भएपछि चौधरी रिहा भएका हुन्।

राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ति प्रकाशित गरी विभिन्न ३ सय ९५ जनाको कैद सजाय राष्ट्रपति विद्यादेवी भण्डारीबाट माफी गरिएको जनाएको थियो। सोही अनुसार सांसद चौधरीसहित कैलाली कारागारमा रहेका अन्य १४ जनाको पनि कैद मिनाह भएको छ।