नेकपा (एमाले)ले विभिन्न २२ वटा प्रस्ताव पारित गरेको छ । बिहीबार पार्टी कार्यालयमा सम्पन्न केन्द्रीय कमिटीको बैठकले आगामी वर्षलाई पार्टीको शुद्धीकरण र सुदृढीकरणको वर्षको रूपमा अघि बढाउने निर्णयसहित २२ वटा प्रस्ताव पारित गरेको हो ।
स्थायी कमिटीबाट काशीनाथ अधिकारी, कोशीबाट घनश्याम खतिवडा, मधेसबाट चन्द्रेश्वर मण्डल, बागमतीबाट कैलाश ढुङ्गेल, गण्डकीबाट नवराज शर्मा, लुम्बिनीबाट राधाकृष्ण कँडेल, कर्णालीबाट गुलावजंग शाह, सुदूरपश्चिमबाट कृष्णप्रसाद जैसी र विभाग, उपत्यका तथा सम्पर्क विशेष, जनसंगठन, प्रवास समूहबाट पेम्बा लामाले आ-आफ्नो समूहको तर्फबाट सुझाव प्रस्तुत गरेका थिए।उपमहासचिव प्रदीप ज्ञवालीले बैठकले गठबन्धन सरकार र गतल प्रवृत्तिका पात्रको राष्ट्रिय हितमा आघात पुर्याएको निष्कर्ष निकालेको जानकारी दिए ।
बैठकले गठबन्धनका कारण राज्य संकट पर्दै गएको निष्कर्ष निकाल्दै संकटबाट मुक्त गर्न एमालेले निर्णायक भूमिका निर्वाह गर्ने संकल्प गरेको उनको भनाइ छ ।
सरकारको भ्रष्टाचार नियन्त्रणको नारा स्टन्टबाजीमा परिणत भएको एमालेको ठहर छ । विभिन्न काण्डहरूको छानबिनमा व्यवसायीहरूपिच्छे दोहोरो मापदण्ड अपनाइएको र आफ्ना मान्छेहरूलाई अपराधबाट उन्मुक्ति दिन न्यायालयलाई प्रभावित र महान्यायाधिवक्ता कार्यालयको दुरुपयोग गरिएको पार्टीको निष्कर्ष रहेको ज्ञवालीले बताए ।
बैठकले तस्करी र भ्रष्टाचारलाई संरक्षण गर्ने सरकार र शासन सञ्चालनमा उसको द्वैध चरित्रको विरोध गरेको छ । टेरामक्स काण्डमा मुछिएका, बालकुमारी घटनामा दोषी देखिएका र विभिन्न विवादमा मुछिएका मन्त्रीहरूलाई तत्काल बर्खास्त गर्नुपर्ने एमालेको माग छ ।














