नयाँ सरकार आएपछि यात्राका लागि अमेरिकाले नेपाललाई लेभल–२ मा राख्यो

Image

अमेरिकाले नेपाललाई आफ्नो यात्रा सल्लाह (ट्राभल एड्भाइजरी) सूचीमा लेभल–२ मा झारेको छ। बालेन शाह नेतृत्वको सरकार आएसँगै मंगलबार अद्यावधिक गरिएको नयाँ सूचनाअनुसार नेपालको सुरक्षा स्थितिमा सुधार आएको भन्दै जोखिम स्तरलाई (लेभल २) (अतिरिक्त सतर्कता अपनाउनुपर्ने अवस्था) मा झारिएको हो। यसको अर्थ नेपाल भ्रमणका क्रममा सम्भावित आन्दोलन वा प्रदर्शनका कारण सतर्कता अपनाउनुपर्ने भन्ने हो।

यसअघि जेनजी आन्दोलन सुरु भएपछि अमेरिकाले ११ सेप्टेम्बर २०२५ मा नेपाललाई लेभल–३ मा राखेको थियो। लेभल–३ को अर्थ ‘भ्रमणअघि पुनर्विचार गर्नुस्’ भन्ने हुन्छ।

अमेरिकी विदेश मन्त्रालयको वर्गीकरणअनुसार लेभल–४ सबैभन्दा उच्च चेतावनी हो, जसमा उक्त देशमा भ्रमण नगर्न सिफारिस गरिन्छ। त्यस्तै लेभल–१ सामान्य अवस्था मानिन्छ, जहाँ केवल सामान्य सतर्कता अपनाए पुग्ने जनाइएको हुन्छ।

अमेरिकी विदेश विभागले जारी गरेको पछिल्लो निर्देशिकामा भनिएको छ, ‘सेप्टेम्बर २०२५ मा सुरु भएको राष्ट्रव्यापी प्रदर्शन अब बन्द भइसकेको छ र सुरक्षा अवस्था स्थिर रहेको देखिन्छ। यद्यपि, प्रदर्शनहरू स्थानीय स्तरमा विशेषगरी शहरहरूमा हुनसक्ने सम्भावना भने अझै रहन्छ।’

निर्देशिकामा थप उल्लेख छ कि प्रदर्शनहरू थोरै चेतावनीमै सुरु हुनसक्ने र छिट्टै उग्र बन्नसक्ने भएकाले यात्रुहरूलाई ठूलो भीडभाडबाट टाढा रहन र स्थानीय प्रशासनका निर्देशन पालना गर्न सुझाव दिइएको छ।

स्वास्थ्य सेवाका विषयमा पनि अमेरिकाले आफ्ना नागरिकलाई सचेत गराएको छ। निर्देशिकामा अन्य स्थानको तुलनामा काठमाडौंका अस्पताल अपेक्षाकृत राम्रो भए पनि विदेशी नागरिकको उपचार खर्च नेपाल सरकारले व्यहोर्दैन भन्ने उल्लेख छ।

त्यसैले अमेरिकाले नेपाल भ्रमणमा आउने आफ्ना नागरिकलाई स्वास्थ्य बिमा गरेर आउन, आवश्यक औषधि साथमा ल्याउन तथा कुनै गम्भीर स्वास्थ्य समस्या आएमा अर्को देशमा उपचारका लागि जानुपर्ने अवस्था आउनसक्ने विषयलाई ध्यानमा राख्न आग्रह गरेको छ।