भारतमा आठ महिने बालिकामा एचएमपीभीको संक्रमण पुष्टि

Image

भारतमा पहिलो पटक एचएमपीभी (ह्युमन मेटाप्नेमोभाइरस) भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो सङ्क्रमण दक्षिण भारतीय राज्य कर्नाटकमा देखिएको हो । 

त्यहाँको बेंगलुरुको एउटा अस्पतालमा आठ महिनाकी बालिकामा संक्रमण पुष्टि भएको अधिकारीहरूले जानकारी दिएका छन् । यो भाइरस नयाँ वर्षको सुरुवातमा नै चीनमा ठूलो सङ्ख्यामा मानिसहरूलाई प्रभावित पारेपछि चर्चामा छ । 

एचएमपीभी भाइरस श्वास–प्रश्वासमा समस्या उत्पन्न गर्ने खालको भाइरस हो, जसले मौसमी फ्लूको जस्तै लक्षणहरू देखाउँछ । विशेष गरी बालबालिका र वृद्धवृद्धाहरू यसको संक्रमणबाट बढी प्रभावित हुन सक्छन् । 

सन् २००१ मा नेदरल्याण्ड्समा पत्ता लागे पनि २४ वर्ष बितिसक्दा पनि एचएमपीभीको खोप विकास भएको छैन । यो भाइरस सबै उमेरका मानिसहरूलाई संक्रमण गर्न सक्छ, तर वृद्ध र साना बालबालिकालाई धेरै असर गर्दछ । 

सङ्क्रमित व्यक्तिको सम्पर्कमा आउँदा सङ्क्रमण सर्न सक्छ । नाकबाट पानी बग्नु, घाँटी दुख्नु, टाउको दुख्नु, थकान लाग्नु, खोकी लाग्नु, ज्वरो आउनु वा चिसो लाग्नु जस्ता लक्षणहरू रहेका छन् ।

जानकारहरूका अनुसार यसले श्वासप्रश्वास र फोक्सोको नलीमा सङ्क्रमण गर्छ, जसकारण खोकी लाग्ने र सास फेर्न गाह्रो हुने गर्छ। यसबाट बच्न कोभिड–१९ जस्तै सामाजिक दूरी कायम राख्नुपर्छ । 

कुनै पनि सङ्क्रमित व्यक्तिबाट टाढा रहनु वा मास्क प्रयोग गर्नु राम्रो हुन्छ । नियमित रूपमा साबुन पानीले हात धुनुपर्छ । खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्नु लगायतका उपायहरू अपनाउनुपर्छ ।