दुई दिने सार्वजनिक बिदा हटाउने तयारीमा सरकार

Image

सरकारले हप्तामा दुई दिन दिँदै आएको सार्वजनिक बिदा व्यवस्था हटाउने तयारी गरेको छ। दुई दिने बिदा प्रभावकारी नभएको निष्कर्षसहित सरकारले उक्त व्यवस्था खारेज गर्ने तयारी गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ।स्रोतका अनुसार आगामी मन्त्रिपरिषद् बैठकले यस विषयमा औपचारिक निर्णय गरेसँगै हाल लागू रहेको शनिबार र आइतबारको दुई दिने बिदा व्यवस्था अन्त्य हुनेछ। त्यसपछि पुनः शनिबार मात्रै सार्वजनिक बिदा कायम गरिने सम्भावना रहेको छ।

सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने, सरकारी खर्च नियन्त्रण गर्ने तथा ऊर्जा बचत गर्ने उद्देश्यले तत्कालीन प्रधानमन्त्री नेतृत्वको सरकारले गत चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकमार्फत हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार शनिबार र आइतबार बिदा दिइँदै आएको थियो।

तर, कार्यान्वयनको केही समयपछि नै दुई दिने बिदाको प्रभावकारिता र व्यवहारिकतामाथि प्रश्न उठ्न थालेका थिए। सरकारी सेवा प्रवाह, प्रशासनिक कामकाज, बैंकिङ तथा निजी क्षेत्रको उत्पादकत्वमा अपेक्षित सुधार नदेखिएको भन्दै विभिन्न क्षेत्रबाट आलोचना हुँदै आएको थियो।सरकारी निकायहरूमा सेवा प्रवाह प्रभावित भएको, कार्यालय समय व्यवस्थापन चुनौतीपूर्ण बनेको तथा आर्थिक गतिविधिमा समेत मिश्रित प्रभाव परेको निष्कर्ष निकाल्दै सरकार पुरानै व्यवस्था फर्काउने तयारीमा पुगेको बताइएको छ।

यद्यपि, यसबारे अन्तिम निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्नेछ। बैठकबाट अनुमोदन भएपछि मात्रै दुई दिने बिदा औपचारिक रूपमा हट्नेछ।