प्रतिक्रियावादीले उपयोग गर्न खोजे जुनसुकै बेला लात्तीले हानेर निस्कन सक्छु : प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू प्रतिक्रियावादीहरुले उपयोग गर्न सक्ने पात्र नभएको बताएका छन् । उनले प्रतिक्रियावादी शक्तिहरुले आफूलाई अनप्रेडिक्टेवल भनेपनि आफू उपयोग हुने पात्र नभएको भन्दै उपयोग गर्न खोजे कुनैपनि बेला लात्ताले हानेर निस्किने गरेको सुनाए ।

आइतबार दिउँसो ‘शान्ति, प्रक्रिया, गणतन्त्र र आजको राजनीति’ विषयक अन्तक्रियामा बोल्दै उनले यस्तो बताएका हुन्।

‘राष्ट्रप्रति इमानदार हुने कुरामा निरन्तर कायम छु, प्रतिक्रियावादीले मलाई उपयोग गर्न खोजे भने कुनैपनि बेला लात्ताले हानेर निस्कन सक्छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘उनीहरूको लागि म विश्वसनीय छैन, हुन पनि परेको छैन । आजको दिन हरेक हरेक दृष्टिकोणले क्रमभंगको दिन बन्न गएको छ ।’

साथै, उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनेदेखि सहिद परिवारका सदस्यलाई रोजगारी दिने संकल्प समेत गरेका छन् ।

‘क्रान्तिकारीजति एक ठाउँमा हुनैपर्छ, अरु कुनै उपाय छैन,’ प्रधानमन्त्री प्रचण्डले भने ।

उनले आफूहरु (माओवादीहरु) नेपाल राष्ट्र र नेपाली जनताको घोडा भएको पनि सुनाए । भारतीय पूर्व जनरल अशोक मेहताको लेखबारे धर्मेन्द्र बास्तोलाले गरेको टिप्पणीप्रति लक्षित गर्दै प्रचण्डले यस्तो जवाफ फर्काएका हुन् । उनले भने, ‘अरु कसैको होईन, म नेपालको घोडा हो । यसमा तपाईंले लालसलाम भन्न सक्नुपर्दथ्यो । एक हप्ताभित्रै नबित्दै यस्तो निर्णय गरेकोमा भनेर, यो सानो कुरा होईन । धेरै ठूलो कुरा हो । यसलाई बुझ्न जरुरी छ । आजको दिन सबै क्रान्तिकारी एक ठाउँमा आवश्यक छ । खिईँदै, सुक्दै, एक्लो हुँदै अनि ठूलो–ठूलो कुरा गरिराख्ने, यो नहुने बुद्धितिर नलागौं । विप्लव उठ्नेबित्तिकै एउटा तरंग पैदा हुन्छ । म त म नै भैहालें । म नमर्दासम्म देशमा उथलपुथल भैराख्छ । मलाई घेरा हालेर सिध्याउने धेरै कोशिस भए । घेरा तोड्दै आएका छौं, अनि तोड्दै जान्छौं । ठूला कुरा गर्नुभन्दा हामी क्रान्तिकारी सबै एक ठाउँमा हुने बाटो खोजौं । त्यो नै क्रान्तिकारी हुन्छ । वैज्ञानिक हुन्छ ।