बुटवलको तिनाउ नदीले सतर्कता तह पार गरेको छ ।
बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार अविरल वर्षापछि पाल्पा हुँदै बग्ने तिनाउ नदीको जलसतहले बिहान ३ बजे बुटवलमा सतर्कता तह पार गरेको हो । केन्द्रका अनुसार तिनाउमा बिहान पानीको सतह ७.२२ मिटर पुगेको छ । महाशाखाका अनुसार जल सतह ५.२ मिटरलाई सतर्कता तह मानिन्छ भने ५.६ मिटरलाई खतराको तह मानिन्छ ।
तिनाउ नदीको जल सतह ६.८८ मिटर पुगेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । केन्द्रले बिहान ९ बजेसम्म जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा गइसक्न अनुरोध गरेको छ । नदीका तटीय क्षेत्र र आसपासका बस्तीमा डुबान हुन सक्ने अनुमान गरिएको छ ।
पछिल्लो ६ घण्टामा स्याङजा, तनहूँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रूपन्देही, कपिलवस्तु, दाङ र आसपासका जिल्लामा अति भारी वर्षा भएको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राविधिकरणले जनाएको छ । पहाडका कमजोर भिरालो जमिनमा पहिरोको जोखिम भएको भन्दै दिउँसो १ बजेसम्म सतर्कता अपनाउन भनिएको छ ।














