विवेकशील नेपाली अभियानका पूर्व अध्यक्ष तथा युवा नेतृत्वका परिचित अनुहार मिलन पाण्डेले आउँदो प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं ९ बाट उम्मेदवारी दिने भएका छन्।
यसअघि २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि यही क्षेत्रबाट उम्मेदवारी दिएका पाण्डे विवेकशील नेपाली दलका संस्थापक नेतामध्ये एक हुन्। उनले उज्वल थापासँगै वैकल्पिक राजनीतिलाई संस्थागत गर्ने अभियानको नेतृत्व गरेका थिए।
शिक्षा, उद्यमशीलता, युवाको सशक्तीकरण र सुशासनका मुद्दामा लामो समयदेखि सक्रिय रहँदै आएका पाण्डे नेपाली राजनीतिमा नयाँ संस्कार, पारदर्शिता र उत्तरदायित्व स्थापित गर्ने एजेन्डामा निरन्तर क्रियाशील छन्।
काठमाडौं–९ मै जन्मेर हुर्किएका पाण्डे शिक्षा नीति निर्माण र उद्यम क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिँदै आएका छन्। आगामी निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिने वा स्वतन्त्र उम्मेदवारी दिने विषयमा आन्तरिक छलफल जारी रहेको पाण्डे निकट स्रोतले जनाएको छ।
स्थानीय तहदेखि संघीय तहसम्म वैकल्पिक र नीतिगत राजनीतिलाई बलियो बनाउने उद्देश्यसहित आफू चुनावी मैदानमा उत्रन लागेको पाण्डेको भनाइ छ।
















