सर्लाही–४ लाई नक्सामा हेर्दा यो मधेशको एउटा साधारण निर्वाचन क्षेत्रजस्तो लाग्न सक्छ । तर भित्र छिरेपछि थाहा हुन्छ, यो भूगोलभन्दा ठूलो राजनीतिक प्रतीक बनिसकेको छ । यहाँको चुनाव दुई उम्मेदवारबीचको मात्र प्रतिस्पर्धा होइन, पुरानो शक्ति संरचना र नयाँ राजनीतिक आकांक्षाबीचको प्रत्यक्ष मुठभेड हो ।
बलरा, गोडैता, रामनगर, धनकौल, विष्णु गाउँपालिका र बरहथवाका विभिन्न वडामा बिताएका केही दिनले एउटै कुरा बारम्बार सुनायो, मानिसहरू परिवर्तन चाहन्छन् । उनीहरू थाकिसकेका छन् । तर त्यो चाहनालाई खुला रूपमा व्यवहारमा उतार्ने साहस अझै पूर्ण रूपमा जन्मिएको छैन ।
यहाँ विकासका भाषण धेरै सुनिएका छन्, तर यथार्थ भने उस्तै जिर्ण छ । वर्षा लाग्नासाथ सडक हिलाम्मे हुन्छन् । कतिपय सडक त यस्ता छन्, जसलाई सडक भन्नु मात्रै औपचारिकता जस्तो लाग्छ । भएका ढलान सडकमा पनि गाईबस्तु बाँधिएको देखिन्छ, कतै पराल र बिस्कुन सुकाइँदै गरेको । सार्वजनिक पूर्वाधार निजी प्रयोगमा परिणत भएको दृश्य आफैंमा विकासको भाषणमाथि व्यंग्य जस्तो देखिन्छ । विद्यालयहरूको अवस्था कमजोर छ । कक्षाकोठाभित्र गुणस्तरभन्दा राजनीति बलियो छ । युवाहरूका लागि रोजगारी छैन, भारत, खाडी वा राजधानी नै अन्तिम गन्तव्य बनेका छन् । दशकौँदेखि राजनीतिक प्रभावको केन्द्र मानिएको क्षेत्रमा अपेक्षित विकास नदेखिएको गुनासो खुलेर सुनिन्छ ।
तर जब स्थानीय प्रभावशाली व्यक्तिहरूको कुरा उठ्छ, स्वर अचानक सानो हुन्छ । धेरैले नाम नखुलाउने शर्तमा मात्र कुरा गर्छन् । काँग्रेस निकट मानिएका प्रभावशाली नेता तथा चर्चित ठेकेदार बिरेन्द्र सिंह र सुरेन्द्र सिंह (सुनिल) को नाम धेरैले डराउँदै उच्चारण गर्छन् । सरकारी ठेक्कामा सेटिङ, कमसल काम, चुरे क्षेत्रबाट गिटी–बालुवा उत्खनन र सीमापार तस्करीसम्मका आरोप यहाँको चिया पसलदेखि चौतारासम्म चर्चामा छन् । यी स्थानीयका आरोप मात्रै होइनन् । प्राकृतिक स्रोत साधनको दोहनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गरेको तथ्यसमेत जोडेर उनीहरूलाई आलोचना गरिन्छ । स्थानीय जनमतमा यस्ता घटनाले गहिरो छाप छोडेको छ ।
कतिपय स्थानीय भन्छन्, पूर्व गृहमन्त्री रवि लामिछानेको कार्यकालमा क्रसर बन्द गराउने लगायतका गतिविधिपछि सम्बन्ध चिसिएको थियो । त्यसपछि यो क्षेत्रको राजनीतिक ध्रुवीकरण अझ तीव्र बनेको चर्चा छ । यिनै कारणहरूले सर्लाही–४ मा राजनीति केवल सिद्धान्तको लडाइँ होइन यो स्वार्थ, संरचना र पहुँचको जालोमा जकडिएको यथार्थ हो भन्ने आभास दिन्छ ।
२०७९ को निर्वाचनले यही जटिलता उजागर गर्यो । स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रिएका अमरेश कुमार सिंहले करिब २० हजार मत ल्याएर विजय हुदाँ काँग्रेसका नागेन्द्र कुमार झण्डै दुई हजार मतले पछि परे । स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादवले पनि उल्लेखनीय मत ल्याइन् । रोचक के छ भने अमरेश स्वयं २०७० र २०७४ मा काँग्रेसकै टिकटबाट निर्वाचित भएका थिए । पार्टीबाट दुईपटक जितेका उम्मेदवारले २०७९ मा बागी बनेर पनि फेरि जित्नुले उनको व्यक्तिगत प्रभाव, जातीय सन्तुलन र स्थानीय सञ्जाल कति गहिरो थियो भन्ने स्पष्ट पार्यो ।
यसले एउटा सन्देश दियो कि सर्लाही–४ मा चुनाव केवल दलको ‘ब्रान्ड’ले जितिँदैन । यहाँ व्यक्तित्व, समीकरण र अन्तिम घडीको सन्देश निर्णायक हुन्छ ।
यसपटक प्रतिस्पर्धा काँग्रेसका गगन थापा र रास्वपाका डा.अमरेश कुमार सिंहबीच केन्द्रित देखिन्छ । दुवैका आफ्नै शक्ति र सीमा पनि छन् । गगन थापा राष्ट्रिय स्तरका प्रभावशाली नेता हुन् । उनले आफूलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गर्दै समयको गति समात्न खोजिरहेका छन् । विकसित राजनीतिक परिस्थितिमा काँग्रेस देशभर रक्षात्मक देखिँदा अपेक्षाकृत सहज क्षेत्रको खोजीमा काठमाडौं छाडेर सर्लाही रोज्नु उनको रणनीतिक निर्णय हो । तर यहाँ उनले प्राप्त गरेको रिर्पोटिंगजस्तै गरिकाँग्रेसको कोर मत मात्रै पर्याप्त देखिँदैन । देशभरजस्तै यसपटक सर्लाहीमा पनि पार्टीको संगठनात्मक संरचना कमजोर छ, आन्तरिक किचलो सतहमा छ, र स्थानीय नेताहरूबीच समन्वय अभावको गुनासो सुनिन्छ । उता डा.अमरेश कुमार सिंह यस क्षेत्रका पुराना र परिचित अनुहार हुन् । दुईपटक काँग्रेसबाट र एकपटक स्वतन्त्र रूपमा निर्वाचित भइसकेका उनी व्यक्तिगत सञ्जाल, जातीय समीकरण र स्थानीय पहुँचका हिसाबले कमजोर उम्मेदवार होइनन् । तर यसपटकको चुनावी माहोलमा एउटा फरक मनोविज्ञान देखिन्छ त्यो हो,मतदाताको ठूलो हिस्सा उम्मेदवारको व्यक्तिगत मूल्यांकनभन्दा बाहिर गएर “बालेन” नाम उच्चारण गरिरहेको छ । बलरा देखि बरहथवासम्म घुम्दा धेरै मतदाताले खुलेर भने “हामी त यसपटक बालेनका लागि घण्टीमै भोट हाल्छौं।” यो अभिव्यक्तिमा स्थानीय उम्मेदवारको चर्चा कम, राष्ट्रिय प्रतीकको आकर्षण बढी सुनिन्छ । रास्वपाको चिन्ह घण्टी यहाँ केवल चुनावी चिन्ह मात्र जस्तो देखिँदैन यो पुरानो राजनीतिक संरचनाप्रति असन्तोषको संकेत बनेको छ । यस अर्थमा डा। अमरेशको व्यक्तिगत प्रभाव पूर्ण रूपमा कमजोर भएको होइन, तर उनीमाथि ‘बालेन ब्रान्ड’को छाया स्पष्ट देखिन्छ । चुनाव यहाँ व्यक्ति व्यक्ति बीच मात्र होइन, व्यक्तित्व र प्रतीकमा रूपान्तरण भइरहेको आभास हुन्छ । धेरै युवाले खुलेर यसपटक स्थानीय उम्मेदवारलाई चिन्नै नखोजेर बालेनका लागि घण्टीमा भोट भनिरहेका छन । तर, रास्वपाको सांगठनीक जरा यहाँ गहिरो छैन । बूथ व्यवस्थापन, स्थायी कार्यकर्ता सञ्जाल र चुनावी संरचनामा कमजोर हुनेछ
।
त्यसैले यहाँ प्रतिस्पर्धा दुई जनाबीच सीमित देखिए पनि जितको ढोका तेस्रो शक्तिको साथ पाउनेले मात्रै खोल्न सक्छ भन्ने विश्लेषण बलियो छ । स्थानीय राजनीतिक वृत्तमा शिवपुजन यादव (राय) को नाम निर्णायक पात्रका रूपमा उच्चारण हुन्छ । नेकपाका यादव यसपटकको चुनावमा आफ्नै छोरालाई उम्मेदवार बनाउँन चाहान्थे । तर, उनले छोरालाई टिकट निकाल्ने नसकेपछि पार्टी छाडेर एमालेबाट छोरालाई उम्मेदवार बनाएका छन । राजनीतिक रुपमा सो क्षेत्रमा उनको प्रभाव अझै कायम रहेको मानिन्छ । अघिल्लो निर्वाचनमा उनकी छोरीले ल्याएको मत संख्याले त्यो संकेत दिएको थियो । यदि यसपटक उनले अघि सारेको उम्मेदवारको जित सम्भावित नदेखिएमा अन्तिम समयमा कुनै एक पक्षलाई सघाउन सक्छन् भन्ने चर्चा व्यापक छ । मधेशको राजनीतिमा अन्तिम घडीको मौन संकेतले परिणाम मोडिएको इतिहास नौलो होइन ।
सर्लाही–४ को अर्को यथार्थ सुन्दा अपत्यारिलो लागेपनि झन् रोचक छ । यहाँका मतदाता दिनभर चिया पसलमा खुलेर आफ्नो धारणा राख्छन् । तर मतदानको अघिल्लो रात मुखिया र ठेकेदारले बदल्ने समीकरणमा मतदान गर्न तयार हुने गरेका उदाहरण कम छैन । मुखिया, ठेकेदार, आर्थिक आश्वासन, सामाजिक दबाब वा डर ! यी सबै तत्वहरूले यहाँको चुनावी चरित्र परिभाषित गर्छन् ।
यसबीच काँग्रेसभित्रको किचलोले अर्को तह थपेको छ । केही दिनअघि काठमाडौँमा डा. अमरेश कुमार सिंहले काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवालाई भेटेको चर्चा छ । स्थानीय स्रोतहरूका अनुसार उक्त भेटमा ‘आशीर्वाद’ मागिएको र केही नरम संकेत पाएपछि अमरेश उत्साहित भएर निर्वाचन क्षेत्रमा फर्किएको केहिको दाबी छ । यसको औपचारिक पुष्टि नभए पनि यस्तो खबरले काँग्रेसभित्रको असन्तोष र विभाजनलाई थप उजागर गरेको छ । यदि शीर्ष नेतृत्वबाटै अस्पष्ट सन्देश गएको हो भने गगन थापाको अभियानका लागि त्यो सहज संकेत होइन ।
सर्लाही–४ अहिले एउटा साधारण निर्वाचन क्षेत्र होइन । यो मधेशको बदलिँदो राजनीतिक संस्कारको परीक्षणस्थल हो । यहाँ नयाँ लहर छ, तर पुरानो शक्ति संरचना अझै सशक्त छ । यहाँ परिवर्तनको चाहना छ, तर डरको छाया पनि जीवित छ । यहाँ दुई बलिया उम्मेदवार छन्, तर दुवै अपूर्ण छन् । यहाँ मतदाताको मन बदलिएको देखिन्छ, तर परिणाम अझै निश्चित छैन ।
ग्राउण्डको संकेत हेर्दा गगन थापाको पक्षमा स्पष्ट माहोल देखिँदैन । अमरेशतर्फ उत्साह बढी देखिन्छ, तर संगठनात्मक कमजोरी उनको चुनौती हो । निर्णायक शक्ति शिवपुजनको रणनीति, काँग्रेसभित्रको अन्तर्कलह र अन्तिम समयको स्थानीय ‘म्यानेजमेन्ट’ बन्न सक्छ ।
सर्लाही–४ को उत्तरले एउटा सीटको जित–हार मात्र तय गर्नेछैन । यसले मधेशको राजनीतिक मनोविज्ञान र नयाँ तथा पुरानो राजनीतिबीचको बहसलाई पनि दिशा दिनेछ । तर धेरैको अन्तिम प्रश्न अझै खुलै छ यसपटक सर्लाही–४ का मतदाताले स्वतःस्फूर्त रूपमा मतदान गरेर आफ्ना प्रतिनिधि छान्न पाउनेछन् ? वा फेरिपनि अन्तिम रातको समीकरणले नै परिणाम लेख्नेछ ?
















