बंगलादेशको आन्दोलनबाट जन्मिएको एनसीपीको चुनावमा लज्जास्पद पराजय, मतगणनामा अनियमितताको आरोप

Image

बंगलादेशमा विद्यार्थी विद्रोहको पृष्ठभूमिमा गठन भएको नेशनल सिटिजन पार्टी (एनसीपी) ले हालै सम्पन्न संसदीय निर्वाचनमा अपेक्षाभन्दा निकै कमजोर परिणाम हासिल गरेको छ। जारी मतगणनाअनुसार एनसीपीले जितेका सिटको सङ्ख्याबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूबीच फरक–फरक विवरण सार्वजनिक भएका छन्।

ढाका ट्रिब्युन ले हालसम्म एनसीपीले ४ सिट जितेको र १ सिटमा अग्रता लिएको जनाएको छ। तर सीएनएन र रोयटर्स ले भने पार्टीले ५ सिट जितेको उल्लेख गरेका छन्। सीएनएनका अनुसार एनसीपीले ३० निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरेको थियो।

अपेक्षाअनुरूप नतिजा नआएपछि एनसीपीले मतगणनामा अनियमितता भएको आरोप लगाउँदै पुनः मतगणनाको माग गरेको छ। बीबीसी का अनुसार पार्टी नेतृत्वले नतिजाप्रति गम्भीर प्रश्न उठाएको छ।

एनसीपी सन् २०२४ मा बंगलादेशमा भएको व्यापक विद्यार्थी आन्दोलनपछि गठन भएको थियो। सो आन्दोलनकै दबाबमा तत्कालीन प्रधानमन्त्री शेख हसिना सत्ता च्यूत भएकी थिइन्। आन्दोलनका क्रममा चर्चामा आएका नाहिद इस्लाम ले हाल एनसीपीको नेतृत्व गरिरहेका छन्।

पार्टीले आफूलाई भ्रष्टाचार र तानाशाहीविरुद्धको नयाँ राजनीतिक विकल्पका रूपमा प्रस्तुत गर्दै आएको थियो। युवाका लागि रोजगारी, हिंसापीडितको न्याय र संस्थागत सुधारलाई मुख्य एजेन्डा बनाएको एनसीपीले व्यापक जनसमर्थन पाउने दाबी गरेको थियो।

जुलाई २०२४ मा सुरु भएको विद्यार्थी आन्दोलन सुरुमा सरकारी जागिरमा लागू गरिएको आरक्षण व्यवस्थाविरुद्ध केन्द्रित थियो। तर आन्दोलन क्रमशः भ्रष्टाचार र सरकारी दमनविरुद्धको विद्रोहमा परिणत भयो। तत्कालीन सरकारको कडा दमनका क्रममा झण्डै १,४०० जनाको ज्यान गएको संयुक्त राष्ट्रसंघ ले जनाएको छ, जसमा अधिकांश विद्यार्थी र युवा थिए।

आन्दोलन चर्किएपछि शेख हसिना देश छाडेर भारत गएकी थिइन्। त्यसपछि नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुस को नेतृत्वमा अन्तरिम सरकार गठन भयो। सोही सरकारले बिहीबार निर्वाचन गराएको हो। शेख हसिनाको पार्टीमाथि प्रतिबन्ध लागेकाले चुनावमा सहभागी हुन पाएको थिएन।

निर्वाचनमा बीएनपी ले सबैभन्दा धेरै सिट जित्दै बहुमत हासिल गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। पार्टी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चितजस्तै छ। बीएनपी करिब दुई दशकपछि पुनः सत्तामा फर्किएको हो।

यता, भारतमा निर्वासन जीवन बिताइरहेकी शेख हसिनाले यो निर्वाचनलाई पूर्ण रूपमा फर्जी र असंवैधानिक भएको दाबी गरेकी छन्। अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले गैरकानुनी रूपमा सत्ता कब्जा गरेर त्यसकै आधारमा चुनाव गराएको उनको आरोप छ।