त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट करिब ११ किलो २७० ग्राम लागूऔषध गाँजाजस्तो देखिने पदार्थसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन्।
शुक्रबार बिहान पक्राउ पर्नेमा ४३ वर्षीया समीना अख्तर बेग मिर्जा, २४ वर्षीय मोहम्मद जुनैद र ४४ वर्षीया अफसाना आमिर हुसेन शेख रहेका छन्।
विमानस्थल सुरक्षा कार्यालय तथा लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई चेकजाँचका क्रममा पक्राउ गरेको हो। प्रहरीका अनुसार मोहम्मद जुनैद र समीना अख्तरको साथबाट करिब ३ किलो ८७० ग्राम तथा अफसानाको साथबाट करिब ७ किलो ४ सय ग्राम लागूऔषध बरामद गरिएको छ।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरोमा पठाइएको प्रहरीले जनाएको छ।













