राष्ट्रिय झण्डा बोकेर अन्तर्राष्ट्रिय मञ्चमा नेपाल चिनाउने ‘साम्बा’को दु:खमा सँगै उभिन नसकेको राज्य

सावित्राको उपचार अपिलः नेपाली खेलकुद प्रशासन र सरकारको परीक्षा

Image

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले सोमबार आफ्नो उपचारका लागि आर्थिक सहयोगको सार्वजनिक अपिल गरेपछि नेपाली खेलकुद प्रशासन फेरि एकपटक गम्भीर प्रश्नको घेरामा परेको छ। सामाजिक सञ्जालमार्फत उनले अखिल नेपाल फुटबल संघ (एन्फा) र सरकारबाट अपेक्षित साथ नपाएको गुनासो गरेकी थिइन्। यो अपिल केवल एक खेलाडीको व्यक्तिगत स्वास्थ्य संकट होइन, यसले समग्र खेल संरचनाको संस्थागत तयारी, उत्तरदायित्व र प्राथमिकतामाथि प्रश्न खडा गरेको छ।

करियरकै कठिन मोडमा ‘साम्बा’

नेपालका लागि अन्तर्राष्ट्रिय मञ्चमा सबैभन्दा प्रभावशाली प्रदर्शन गर्ने खेलाडीमध्ये अग्रस्थानमा पर्ने साम्बा अहिले घुँडाको गम्भीर चोटका कारण करियरकै संवेदनशील मोडमा छिन्। यसअघि गरिएको एसीएल शल्यक्रियाबाट राखिएको ग्राफ्ट पुनः समस्या ग्रस्त भएको र एमसिएलमा समेत चोट दोहोरिएपछि चिकित्सकले जटिल शल्यक्रिया आवश्यक रहेको सुझाव दिएका छन्।

उपचार खर्च मात्र ८० देखि ९० हजार अमेरिकी डलर (करिब १ करोड ३० लाख रुपैयाँभन्दा बढी) लाग्ने अनुमान गरिएको छ। यसबाहेक बसोबास र पुनर्स्थापना खर्च अलगै हुने बताइएको छ।

साम्बाले कतारस्थित एस्पेटर अर्थोपेडिक एण्ड स्पोर्ट्स मेडिसिन अस्पतालमा उपचार गर्ने तयारी गरेको उल्लेख गरेकी छन्। विश्वस्तरका खेलाडीहरूको जटिल चोट व्यवस्थापनमा विशेषज्ञता राख्ने यस संस्थाले धेरै अन्तर्राष्ट्रिय खेलाडीहरूको सफल उपचार गरिसकेको छ।

एन्फा र सरकारको भूमिकामाथि प्रश्न

साम्बाका अनुसार अखिल नेपाल फुटबल संघले पाँच लाख रुपैयाँसम्म मात्र सहयोग गर्न सक्ने जनाएको छ। साम्बाको अमूल्य योगदानको लागि फुटबल संघको सहयोग अत्यन्त न्यून हो। यो उनको योगदानका लागि मान भन्दा पनि अपमान देखिन्छ ।

एन्फा विगत केही वर्षदेखि व्यवस्थापन, लिग सञ्चालन र आर्थिक पारदर्शिताका विषयमा आलोचनाको केन्द्रमा रहँदै आएको छ। शीर्ष ‘ए’ डिभिजन लिग नियमित रूपमा सञ्चालन हुन नसक्नु, बजेट पारदर्शितामाथि उठ्ने प्रश्नहरू, र खेलाडी कल्याण नीतिको अस्पष्टता, यी सबै विषयले संघको संस्थागत क्षमतामाथि सन्देह त छदैँ छ ।

यता युवा तथा खेलकुद मन्त्रालयले औपचारिक प्रस्ताव नआएको बताएको छ। तर राष्ट्रिय टोलीकी कप्तानले सार्वजनिक रूपमा सहयोग माग्नुपर्ने अवस्था आउँदा पनि प्रणालीगत पहल नहुनु प्रशासनिक ढिलासुस्तीको संकेत मान्न सकिन्छ।

खेलाडी कल्याण नीति कहाँ कमजोर ?
यो प्रकरणले नेपालको खेलकुद क्षेत्रमा खेलाडी बीमा, दीर्घकालीन स्वास्थ्य सुरक्षा र आकस्मिक उपचार कोषको अभाव उजागर गरेको छ। अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने खेलाडीहरूका लागि धेरै देशमा संघीय बीमा, प्रदर्शनमा आधारित बोनस, र आपत्कालीन उपचार कोष अनिवार्य जस्तै हुन्छ। चोट व्यवस्थापनका लागि स्पष्ट प्रोटोकल र जिम्मेवारी बाँडफाँट सुनिश्चित गरिएको हुन्छ।

साम्बाले क्लबका लागि खेल्दा चोट लागेको भन्दै एन्फाले जिम्मेवारीबाट पन्छिन खोजेको संकेत गरेकी छन्। तर प्रश्न उठ्छ-राष्ट्रिय टोलीका खेलाडी क्लब र देश दुवैका लागि खेल्दा चोट व्यवस्थापनको दायित्व कसले लिने ?

स्पष्ट नीतिगत व्यवस्था नहुँदा यस्तो विवाद दोहोरिन सक्छ। यसले खेलाडीहरूलाई असुरक्षित महसुस गराउने जोखिम बढाउँछ। साम्बा नेपाली महिला टोलीकी सर्वाधिक गोलकर्त्री हुन्। भारतविरुद्ध निर्णायक बराबरी गोलदेखि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको पुनरागमन गराउने क्षणसम्म उनले राष्ट्रिय गौरव उचालेकी छन्।

युरोपेली लिग र अस्ट्रेलियाको ए–लिग महिला (पूर्व नाम निन्जा ए–लिग) सम्म खेल्दै उनले नेपाली महिला फुटबललाई विश्वस्तरमा चिनाएकी छन्। यस्तो खेलाडी उपचार खर्च जुटाउन सार्वजनिक अपिल गर्न बाध्य हुनु केवल आर्थिक कमजोरी होइन, यो नैतिक संकट पनि हो। प्रदर्शनमा राज्य र संघ गौरव गर्ने तर संकटमा साथ नदिने प्रवृत्तिले दीर्घकालीन रूपमा खेल विकासलाई कमजोर बनाउँछ। यो घटना व्यक्तिगत होइन, संरचनागत समस्यालाई उजागर गरेको छ ।

परीक्षा केवल साम्बाको होइन

साम्बाको उपचारमा सम्बन्धित निकायहरूले कस्तो निर्णय लिन्छन् भन्ने प्रश्न अब व्यक्तिगत सीमाभन्दा बाहिर गइसकेको छ। यो नेपाली खेलकुद प्रशासनको विश्वसनीयता, संवेदनशीलता र उत्तरदायित्वको परीक्षा हो। राष्ट्रिय झण्डा बोकेर अन्तर्राष्ट्रिय मञ्चमा लड्ने खेलाडी संकटमा पर्दा राज्य र संस्थाहरू कति जिम्मेवार हुन्छ – यही क्षणले त्यसको मापन गर्नेछ।