राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले उपचारका लागि सहयोग मागेकी छिन्। न्युजिल्यान्डको क्लब फुटबल खेल्ने क्रममा घाइते भएर उपचाररत उनले उपचारका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले उदासीनता देखाएको र उपचार खर्च पर्याप्त नभएको भन्दै सामाजिक सञ्जालमार्फत सहयोग मागेकी हुन्।
कतारको अस्पतालमा उपचारका लागि करिब ८० हजार डलर आवश्यक पर्ने र इन्स्योरेन्सबाट पर्याप्त नहुने भएकाले उनले सहयोग मागेकी हुन्।
यस्तो छ उनको अपिलः
नमस्कार, म सावित्रा भण्डारी, तपाईंहरूको ‘साम्बा’
यहाँहरू सबैलाई थाहा नै छ म पछिल्लो सात हप्तादेखि चोटका कारण मैदानबाहिर छु । सोचेजस्तो हुन्थ्यो भने अहिले म चोटको शल्यक्रिया गरेर फिजियो सुरु गरेको केही समय बितिसक्ने थियो । तर, अझै पनि म उपचारका लागि भौँतारिएकी छु ।
मेरो घुँडाको एसिएलमा यसअघि शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेको छ । यसका लागि मैले पुन: जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको छ । पछिल्लोपटक एन्फा नेतृत्वको पहलमा मेरो उपचारमा सम्पूर्ण व्यवस्थापन र सहयोग भएको थियो । त्यसवेला आर्थिक र मानसिक रूपमा मलाई कुनै समस्या थिएन, जसकारण मैले समयमा पुनरागमन गर्दै मैदान फर्कन सकेँ ।
तर, यसपटक एन्फा नेतृत्वबाट वाचा गरेको सहयोग पनि पाइएन । चोट लागेको तीन सातापछिका लागि क्लबको पहलमा शल्यक्रिया मिति तोकिएको भए पनि एन्फाले आफ्नोतर्फबाट प्रयास गर्ने बतायो । तर, सोअनुसार एन्फाबाट प्रक्रिया अघि बढेन । मैले पटक–पटक प्रयास गर्दा पनि उहाँहरूलाई सम्पर्क गर्न कठिन भयो । अघिल्लो साता एन्फा अध्यक्ष आफैँले मेरो उपचारमा एन्फाबाट प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिनुभयो । उहाँले नगद पाँच लाखसम्म सहयोग गर्ने र अन्य प्रक्रिया आफैँ गर्न भन्नुभयो । एक त मैले यसअघि चालेको प्रक्रिया रोकियो, अर्कोतर्फ मैले झन्डै दुई महिनापछि मात्र शल्यक्रिया मितिको लागि फेरि प्रयास गर्नुपर्ने भएको छ ।
यसबिचमा क्लबले मलाई न्युजिल्यान्डकै स्थानीय अस्पतालमा उपचार गर्न तयार रहेको बताइरहेको छ । तर, मेरो चोट गम्भीर रहेको र पछिल्लोपटक कतारको अस्पेटारमा गरिएको उपचार उच्चस्तरको रहेकाले मैले पुन: सोही अस्पतालमा उपचार गराउने इच्छा राखेकी हुँ । क्लबले बिमाबाट प्राप्त रकम मेरा लागि निकासा गरिदिने भएको छ । तर, उक्त रकम मेरो शल्यक्रिया र सात-आठ महिना रिह्याबका लागि अपुग हुने भएकाले आमसमर्थकमाझ सहयोग माग्न आइपुगेकी छु । यसका लागि कुल ८० हजार अमेरिकी डलर खर्च हुने प्रारम्भिक आकलन रहेको छ ।
म बाहिर रहेकाले सरकारसमक्ष पनि मेरो प्रतिनिधित्व गर्दै उपचारका लागि सहयोगको प्रयास भएका छन् । तर, सरकारी प्रक्रिया अपेक्षा गरेअनुसार अघि बढ्न नसक्दा मैले शल्यक्रिया नगरी भर गर्ने स्थिति रहेको छैन ।
मैले आफ्नो करिअरमा सधैँ कठिनाइहरूको सामना गर्नुपरेको छ, र हरेकपटक साहसका साथ त्यसलाई पार गरेकी छु । यसपटक पुन: माथि उठ्न तपाईंको सहयोगको आवश्यकता परेको छ ।
मेरा लागि यो आफ्नो करिअरको सबैभन्दा कठिन लडाइँ भएको छ । मैले यो अवस्था आउला भन्ने सोचेकी पनि थिइनँ । आफ्नो अभिभावक मानेको एन्फाले पनि पछि हटेपछि मेरो साथ दिन आमसमर्थकहरू नै हुनुहुन्छ । एन्फाभित्र म क्लबका लागि खेल्दा चोट लागेको भन्ने तर्क सुन्दा म आफैँ निराश भएकी छु । तर, मैले देशको लागि सधैँ शतप्रतिशत दिएकी छु र आउने दिनमा पनि देशका लागि खेल्न तत्पर छु । इजरायल होस् या फ्रान्स, मैले सधैँ नेपालकै नाम राखेको महसुस भएको छ । यहाँ न्युजिल्यान्ड र अस्ट्रेलियामा खेल्दा पनि मैले व्यक्तिगतभन्दा पनि राष्ट्रको पहिचान बोकेको ठानेकी छु ।
आर्थिक रूपमा मैले आजसम्म आर्जन नगरेको रकम यो उपचारका लागि आवश्यक परेको छ । त्यसैले नै म आज यहाँहरूमाझ सहयोगको याचना गरिरहेकी छु । आशा छ मेरो उपचारका लागि आवश्यक सहयोग चाँडै जम्मा हुनेछ । र, म राष्ट्रिय टोलीको कप्तान, जो युरोपमा पुगेर खेलेकी छु, मैले यो परिस्थितिको सामना गर्नुपर्छ भने सोच्नुहोस् अरूको अवस्था के होला ? मैले यसबारे निरन्तर आवाज पनि उठाउँदै आएकी छु, तर नियतिले पुन: एकपटक मलाई नै यो अवस्थामा ल्याएको छ ।
मलाई सहयोग गर्न नेपालमा रहनुहुनेले तल राखिएको QR वा बैंमार्फत सहयोग गर्नुहोला ।
विदेशमा रहनुहुनेले यो लिंकमा गएर सहयोग गर्नुहोला :
यो चोटले मलाई शारीरिक र मानसिक रूपमा थकाएको छ, तर मलाई विश्वास छ म फर्कनेछु ।
थाकेको हो, हारेको छैन
पुन: एकपटक नेपालको जर्सी लगाएर मैदान फर्कनेछु ।
जय नेपाल !















