काठमाडौंसहित प्रमुख शहरमा वायु प्रदूषण बढ्यो, घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

Image

पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदूषण अत्यधिक बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अपिल गरेको हो।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी का अनुसार काठमाडौं, पोखरा, विराटनगर लगायत तराईका विभिन्न क्षेत्रको हावामा हानिकारक पर्टिकुलेट म्याटर (पीएम २.५) को मात्रा निकै बढेको छ। श्वासप्रश्वास र छालामार्फत शरीरभित्र प्रवेश गर्ने यी सूक्ष्म कणहरूले मानव स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउने उनले बताएका छन्।

मन्त्रालयका अनुसार प्रदूषणका कारण विशेषगरी ज्येष्ठ नागरिक, गर्भवती महिला, पाँच वर्षमुनिका बालबालिका र दीर्घरोगीहरू उच्च जोखिममा रहेका छन्।

“यसले सामान्य आँखा दुख्ने, पाक्ने र दृष्टिमा असर पर्ने समस्यादेखि लिएर मुटु, मिर्गौला, श्वासप्रश्वाससम्बन्धी गम्भीर रोग र क्यान्सरसम्म गराउन सक्छ,” प्रवक्ता डा. बुढाथोकीले बताए।

बिहान र बेलुका बाहिर ननिस्कन सुझाव

प्रदूषणबाट बच्न मन्त्रालयले विशेषगरी बिहान र साँझको समयमा घरबाहिर ननिस्कन सुझाव दिएको छ। उक्त समयमा हानिकारक कणहरू वायुमण्डलको तल्लो तहमा जम्मा हुने भएकाले मर्निङ वाक वा इभिनिङ वाकमा ननिस्कन आग्रह गरिएको छ।

त्यस्तै बाहिर निस्कनै पर्ने अवस्थामा अनिवार्य रूपमा मास्क प्रयोग गर्न, आँखा जोगाउन चस्मा लगाउन र छालालाई प्रदूषणबाट जोगाउन पूरै शरीर छोपिने गरी कपडा तथा टोपी प्रयोग गर्न मन्त्रालयले सुझाव दिएको छ।