गगन-ओलीको गोप्य समीकरण काँग्रेसलाई लाभ, एमालेलाई अपूरो

Image

प्रतिनिधिसभा निर्वाचनको मतदान सम्पन्न भएसँगै दुई साताअघि दुवै दलबीच भएको गोप्य चुनावी सहकार्यको लाभ एउटा पार्टीले मात्रै लिने देखिएको छ । झापा–५ र सर्लाही–४ मा एकले अर्कोलाई सघाउने उद्देश्यले सुरु भएको छलफल ७ निर्वाचन क्षेत्रमा पुगेर टुंगिएपनि यसको लाभ भने काँग्रेसले मात्रै लिने देखिएको छ । दुईदलबीचको सहमतिको सर्कुलर बुधबार साँझ मात्रै पठाएपछि यसको कार्यन्वयन फितलो बन्यो जसले गर्दा लाभ एउटा पार्टीलाई मात्रै हुने देखिएको हो । अन्तिम समयमा एकले अर्कोलाई सहयोग गर्ने निर्देशन पार्टी च्यानलबाट निर्वाचन क्षेत्रमा पुगेपनि कार्यन्वयनमा भने अलमल देखिएको पार्टीकै नेताहरु बताउँछन । चितवन र सर्लाहीमा एमाले कार्यकर्ता लाईन लाएर काँग्रेसका पक्षमा उभिएपनि झापा र दाङमा यसको अवज्ञा भएको छ । यसले निर्वाचनको नतिजा निकाल्न काँग्रेसलाई सहज भएपनि ओलीका लागि अपुरो बनेको छ । मतदानपछि देखिएको कार्यकर्ता र मतदाताको व्यवहारले उक्त सहकार्यबाट अपेक्षित लाभ समान रूपमा बाँडिने सम्भावना कमजोर देखिएको हो ।

दुवै दलका शीर्ष तहका नेताबीच भएको समझदारीअनुसार झापा, दाङ, रुपन्देही र भक्तपुरका क्षेत्रमा काँग्रेसले एमालेका उम्मेदवारलाई सहयोग गर्ने तथा चितवन, सर्लाही र तनहुँमा एमालेले काँग्रेसका उम्मेदवारलाई सघाउने सहमति बनेको थियो। उक्त समझदारीमा काँग्रेस उपसभापति विश्वप्रकाश शर्मा र एमाले महासचिव शंकर पोखरेलले समेत हस्ताक्षर गरेका थिए । तर कार्यकर्ताबीच असन्तुष्टि फैलिन सक्ने आशंकाले दुवै दलले यो सहमतिलाई मतदानको अघिल्लो दिनसम्म गोप्य राख्दाँ यसको कार्यन्वयन फितलो बन्यो ।

सम्झदारीअनुसार झापा–५ मा काँग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सहयोग गर्ने, चितवन–२ मा एमालेले काँग्रेसकी मिना खरेललाई समर्थन गर्ने सहमति थियो। त्यस्तै सर्लाही–४ मा एमालेले काँग्रेसका उम्मेदवार गगन थापालाई सहयोग गर्ने र तनहुँ–१ मा एमालेले काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई सघाउने समझदारी बनेको थियो। उता दाङ–२ मा काँग्रेसले एमालेका उम्मेदवार शंकर पोखरेललाई तथा रुपन्देही–२ मा विष्णु पौडेललाई समर्थन गर्ने उल्लेख थियो। भक्तपुर–२ मा एमालेका महेश बस्नेतलाई सहयोग गर्ने विषय मौखिक रूपमा थापाले आश्वसन दिएपनि औपचारिक सहमतिपत्रमा भने त्यसको स्पष्ट उल्लेख थिएन।

तर मतदान सम्पन्न भइसकेपछि प्राप्त प्रारम्भिक सूचनाहरूले भने सहमतिका क्षेत्रहरूमा समान प्रभाव नदेखिएको स्पष्ट संकेत बाहिरिएका छन्। एमालेले काँग्रेसलाई सघाउने भनिएका तीन निर्वाचन क्षेत्रमा एमाले कार्यकर्ताले पार्टी च्यानलमार्फत आएको सर्कुलरलाई धेरै हदसम्म पालना गरेको देखिएको छ। स्थानीय स्रोतहरूका अनुसार चितवन-२ र सर्लाही -४ मा एमाले कार्यकर्ता नै लाइन लागेर रूख चिन्हमा मत हाल्न पुगेको दृश्य देखिएको थियो। यसले ती क्षेत्रमा काँग्रेसका उम्मेदवारको जित्ने सम्भावना बलियो बनेको आकलन छ।

तर काँग्रेसले एमाले उम्मेदवारलाई सघाउने भनिएका चार क्षेत्रमा भने तस्वीर फरक देखिएको छ। ती क्षेत्रमा काँग्रेसका कार्यकर्ताबीच सहमति कार्यान्वयनप्रति उत्साह देखिएको छैन। प्रारम्भिक आन्तरिक मूल्यांकनअनुसार ती क्षेत्रमा काँग्रेसका करिब ३० प्रतिशत कार्यकर्ताले समेत सूर्य चिन्हमा मतदान नगरेको अनुमान छ। पार्टीभित्रको मनोवैज्ञानिक दूरी, स्थानीय प्रतिस्पर्धा र लामो समयदेखिको राजनीतिक प्रतिद्वन्द्विताले गर्दा काँग्रेसका मतदाताले सहमति सहज रूपमा स्वीकार नगरेको काँग्रेसकै नेताहरु बताउँछन । त्यसो त काँग्रेसले सहयोग गर्ने भनिएको रुपन्देहीका कार्यकर्ताले जानकारी नै नपाएको चर्चा छ ।

यो दुई दलबीचको गोप्य सहमतिको आशाय रास्वपाका प्रभावशाली नेताहरु बालेन शाह, रवि लामिछाने, स्वार्णिम वाग्ले, बिपिन आचार्य र अमरेश कुमार सिंहलाई रोक्ने देखिन्छ । तर एमालेले सहयोग गरेका सर्लाही ४ मा गगन थापा र तनहुँमा १ मा गोविन्द भट्टराईका लागि सहमति साधक हुने स्पष्ट संकेत देखिएपनि अन्य ठाउँमा यसको प्रभाव न्युन छ । चितवन २ मा रवि लामिछानेको सहज जीतलाई .यो सहमतिले कठिन बनाएपनि यसले मतान्तर कम गर्ने बाहेकको प्रभाव पार्न नसक्ने आँकलन छ । तर, दाङमा एमालेका शंकर पोखरेल, रुपन्देहीमा बिष्णु पौडेल र झापामा केपी ओलीका लागि यसले कुनै प्रभाव नपार्ने प्रारम्भिक संकेत देखिएको छ । अन्तिम समयसम्म पनि सहज जित निकाल्ने आँकलन गरिएको सर्लाही ४ का रास्वपा उम्मेदवार अमरेश कुमार सिंहलाई भने गगन ओलीको गोप्य सहमति भारी पर्ने देखिएको छ ।

यसरी हेर्दा एमालेले काँग्रेसलाई सघाउने भनिएका तीन क्षेत्रमा काँग्रेसले प्रत्यक्ष लाभ लिन सक्ने सम्भावना देखिन्छ। तर काँग्रेसले सहयोग गर्ने भनिएका क्षेत्रमा भने एमालेका उम्मेदवारले परिणाम निकाल्ने अवस्था नरहेको बिश्लेषण छ । यसैले चुनावी गणितका हिसाबले यो गोप्य सहमति काँग्रेसलाई लाभ र एमालेका लागि कागलाई बेल जस्तै बन्न पुगेको छ । राजनीतिक विश्लेषकहरूका अनुसार यस्तो सहकार्य बाट नेपाली काँग्रेसले एमालेले सघाएका तीनवटा सिट रुपमा नाफा देखिएपनि गगन थापाले भने यसको ठुलै मुल्य चुकाउँने पर्ने हुन सक्छ ।निर्वाचन अभियानका क्रममा “१६५ वटै क्षेत्रमा काँग्रेसका मतदाताले रूख चिन्हमै मत हाल्नेछन्” भन्ने उद्घोष गर्दै आएका सभापति गगन थापामाथि अब आफ्नै जित सुनिश्चित गर्न सात निर्वाचन क्षेत्रमा एमालेसँग गोप्य सहमति गरेको प्रश्न उठ्ने सम्भावना बलियो छ।