अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल फुटबल खेलाडी संघबीच सहमति भएपछि मंगलबार एन्फामा लागेको ताला खोलिएको छ।
खेलाडी संघले राखेका मागमा सहमति जुटेपछि उनीहरूले आफैं एन्फा कार्यालयको ताला खोलेको बताएका छन्।
आइतबार खेलाडीहरूले एन्फा परिसरमा विरोध प्रदर्शन गर्दै तीन बुँदे मागसहित तालाबन्दी गरेका थिए। खेलाडी संघले राखेका मुख्य मागहरूमा सहिद स्मारक ‘ए’ डिभिजन लिग सञ्चालनको सुनिश्चितता र लिगको मिति तोक्ने विषय, अक्षय कोषको विस्तृत विवरण उपलब्ध गराउने र सन् २०१७ देखि हालसम्मको पुरस्कार तथा तलब भत्ता सार्वजनिक गर्ने कुरा समावेश थिए।
खेलाडी संघका अनुसार, यसअघि पटकपटक वार्ता र सडक संघर्षका बाबजुद पनि एन्फाले मागहरू वेवास्ता गरेकोले तालाबन्दी गर्न बाध्य हुनुपरेको थियो।
सोमबार एन्फाले जारी गरेको विज्ञप्तिमा खेलाडी संघले गरेको तालाबन्दीप्रति गम्भीर ध्यानार्षण भएको उल्लेख गरिएको थियो।
सहमति जुटेपछि दुवै पक्षले अब लिग सञ्चालन र खेलाडीहरूको माग पूरा गर्ने दिशामा काम अगाडि बढाउने अपेक्षा गरिएको छ।
















