नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ २० जनाको नाम निर्वाचन आयोगमा सिफारिस गरेर पठाएको छ।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सिट जितेको थियो। सोही आधारमा पार्टीले समानुपातिकतर्फ प्रतिनिधि सभामा पठाउने उम्मेदवारको नाम तय गरेको हो।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिकतर्फ २० जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो। बैठक सभापति गगन थापाको अध्यक्षतामा बसेको थियो।
बैठकले समानुपातिकतर्फ २० सिटमध्ये १५ जना महिला र ५ जना पुरुषको नाम सिफारिस गर्ने निर्णय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
यसअघि शेरबहादुर देउवा पार्टी सभापति रहेका बेला तयार गरिएको समानुपातिक उम्मेदवारको सूचीबाट नै अहिले २० जनाको नाम सिफारिस गरिएको बताइएको छ।
प्रवक्ता चालिसेले समानुपातिकतर्फ सिफारिस गरिएका व्यक्तिहरूको विस्तृत विवरण भने निर्वाचन आयोगले सार्वजनिक गर्ने जानकारी दिए।
















