नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले आफू र संयोजक प्रचण्डलाई पार्टीबाट बिदा हुन भनेको कुनै पनि प्रस्ताव नभएको बताएका छन्।
केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको पार्टी बैठकमा युवा नेताहरूले दुवै नेतालाई बिदा दिनुपर्ने सुझाव उठाएको समाचार बाहिर आए पनि नेपालले त्यसको खण्डन गरेका छन्। उनले बताए, “पार्टी बैठकमा धेरै युवा साथीहरूले बोल्नुभयो, तर बिदा हुनु भनेर प्रचण्ड र मलाई भन्नुभएको छैन। बरू पार्टी पुनर्गठनका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्छ भन्ने सुझाव दिनुभयो।”
नेपालले थपे, “संसदीय दलको नेता पनि प्रचण्डलाई नबन्नु भन्नुभएको छैन। अनावश्यक हल्ला फैलाइएको छ।”
यस प्रतिनिधिसभा निर्वाचनमा सह-संयोजक नेपाल गृहजिल्ला रौतहटमा पराजित भए, जबकि प्रचण्ड गोरखा–रुकुमपूर्वबाट निर्वाचित भए। पार्टीले यस निर्वाचनमा इतिहासमै सबैभन्दा कमजोर नतिजा निकालेको थियो।
बैठकमा युवा नेताहरूले भने, नेताहरूले सम्मानपूर्वक बिदा भई नयाँ पुस्तालाई अवसर दिनुपर्छ र पार्टी पुनर्गठनका लागि सहकार्य गर्नुपर्ने आवाज उठाएका थिए।
















