२१ चुनावी क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय भोगेको कांग्रेसको निष्कर्ष

Image

नेपाली कांग्रेस ले २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीभित्रकै अन्तर्घातका कारण कम्तीमा २१ निर्वाचन क्षेत्रमा पराजय भोग्नुपरेको निष्कर्ष निकालेको छ।

जारी केन्द्रीय समिति बैठकमा भएको निर्वाचन समीक्षाबारे जानकारी दिँदै पार्टीका प्रवक्ता देवराज चालिसे ले ५ हजारदेखि ३ हजारभन्दा कम मतान्तरले हारिएका क्षेत्रहरूमा मुख्य रूपमा आन्तरिक कारण जिम्मेवार रहेको बताएका छन्।

उनका अनुसार ३ हजारदेखि ५ हजार मतान्तरमा पराजित भएका क्षेत्रमा चुनावी क्याम्पेनमा कमजोरी देखिएको छ भने ५ हजारदेखि १० हजारसम्मको ठूलो मतान्तर भएका क्षेत्रमा अन्तर्घात, कमजोर रणनीति र प्रतिकूल ‘न्यारेटिभ’ले पार्टीलाई रक्षात्मक बनाएको निष्कर्ष निकालिएको छ।

“हाम्रो परम्परागत भोट कसरी ट्रान्सफर भयो भन्ने विषयमा गम्भीर छलफल भइरहेको छ,” चालिसेले भने, “यो भोटको मात्रै माइग्रेसन हो कि मतदाताको सोचमै परिवर्तन आएको हो भन्ने विषयलाई हामीले गहिरो रूपमा हेरिरहेका छौँ।”

८ लाख ५० हजारभन्दा बढी क्रियाशील सदस्य रहेको पार्टीले अपेक्षित मत नपाउनु गम्भीर विषय भएको उनले बताए। केही क्षेत्रमा संगठनात्मक कमजोरीसँगै जनविश्वासमै प्रश्न उठेको संकेतसमेत देखिएको उनले उल्लेख गरे।

कांग्रेसले निर्वाचन परिणामको विस्तृत समीक्षा गर्दै आगामी रणनीति सुधार गर्ने तयारी गरेको जनाएको छ।