नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आइतबार उल्लेखनीय रूपमा बढ्दै २९३१.५५ विन्दुमा बन्द भएको छ। अघिल्लो कारोबार दिनको तुलनामा परिसूचक ५४.५१ अंकले उकालो लागेको हो।
यस दिन शेयर बजारमा उत्साहजनक गतिविधि देखिएको छ। कुल कारोबार रकम २३ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ, जुन पछिल्लो आठ महिनाकै उच्च हो। यसअघि २०८२ साउन ११ गते २६ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको थियो।
आइतबार ३६४ कम्पनीका ६ करोड १४ लाखभन्दा बढी कित्ता शेयर किनबेच भएका छन्। बजारमा व्यापक हरियाली छाउँदै १८३ कम्पनीको शेयर मूल्य बढेको छ भने ७३ कम्पनीको घटेको छ। ८ कम्पनीको मूल्य भने स्थिर रहेको छ।
यस दिन ७ कम्पनीमा सकारात्मक सर्किट लागेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स स्पिनिङ मिल्स, साल्पा विकास बैंक, अभियान लघुवित्त, सोलु हाइड्रोपावर र भुजुङ हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ भने होटल फरेस्ट इनको मूल्य ९.९८ प्रतिशतले बढेको छ।
घट्ने कम्पनीतर्फ एनआइसी एसिया ब्यालेन्स्ड फण्डको मूल्य सबैभन्दा धेरै ५.७१ प्रतिशतले घट्दै प्रति इकाइ ९ रुपैयाँ ९८ पैसामा झरेको छ। यस्तै, सुपर मादी हाइड्रोपावरको मूल्य ३.१५ प्रतिशतले घटेर ५२८ रुपैयाँमा सीमित भएको छ।
कारोबार रकमका आधारमा कुमारी बैंक अग्रस्थानमा रहेको छ। बैंकको ८५ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर २४३ रुपैयाँ २० पैसामा कारोबार भएको छ, जुन अघिल्लो दिनको तुलनामा ४.८३ प्रतिशतले बढी हो। दोस्रो स्थानमा नेसनल हाइड्रोपावर रहेको छ, जसको ७७ करोड ८७ लाख रुपैयाँ बराबरको शेयर ३१५ रुपैयाँमा कारोबार भएको छ।
समूहगत परिसूचकमध्ये कारोबारमा आएका सबै १३ समूहमा वृद्धि देखिएको छ। विशेषगरी लघुवित्त समूहमा लगानीकर्ताको आकर्षण उच्च देखिँदा यस समूहको परिसूचक सर्वाधिक ४.२१ प्रतिशतले बढेको छ।
विश्लेषकहरूका अनुसार बजारमा देखिएको यो मजबुत उछालले लगानीकर्ताको विश्वास बढ्दै गएको संकेत गरेको छ।














