मध्यपूर्व ऊर्जा संकट १९७० भन्दा गम्भीर हुन सक्छ : अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी

Image

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका कार्यकारी निर्देशक फातिह बिरोलले मध्यपूर्वको वर्तमान अवस्था अत्यन्त गम्भीर रहेको चेतावनी दिएका छन्। उनले यो संकट १९७० दशकका दुई ठूला ऊर्जा संकटभन्दा पनि खराब हुन सक्ने बताएका छन्।

अष्ट्रेलियाको नेशनल प्रेस क्लबमा सम्बोधन गर्दै बाय्रोलले जारी संकटको मुख्य समाधानका लागि स्ट्रेट अफ हर्मुज पुनः खोल्नुपर्ने बताए। अमेरिकी–इजरायली आक्रमणपछि इरानले उक्त मार्गलाई प्रभावकारी रूपमा अवरुद्ध गरेको छ, जसले विश्व ऊर्जा आपूर्ति र तेल ढुवानीमा गम्भीर असर पारेको छ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई होर्मुज पूर्ण रूपमा खोल्न अल्टिमेटम दिएका छन्। उनले चेतावनी दिँदै भनेका छन्—यदि मार्ग खुलाइएन भने वासिङ्टनले तेहरानका विद्युत् संयन्त्रहरूमा आक्रमण गर्न सक्छ।

इरानले पनि कडा प्रतिक्रिया दिँदै यदि आफ्नो ऊर्जा संरचनामा हमला भए मध्यपूर्वभर ऊर्जा पूर्वाधार र पानी शुद्धीकरण संयन्त्रहरूलाई निशाना बनाउने चेतावनी दिएको छ।

विश्लेषकहरूका अनुसार होर्मुज मार्ग विश्वको सबैभन्दा महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक हो, जहाँबाट दैनिक ठूलो मात्रामा कच्चा तेल अन्तर्राष्ट्रिय बजारमा पुग्ने गर्छ। यस मार्गको अवरोधले विश्व बजारमा तेलको मूल्य आकासिनुका साथै आपूर्ति संकट गहिरिने खतरा बढेको छ।

हालको तनावले विश्व अर्थतन्त्र, ऊर्जा सुरक्षा र भू–राजनीतिक स्थिरतामा गम्भीर चुनौती खडा गरेको छ।