नेपाल–चीन सीमास्थित कोरला नाका अन्तर्गतको मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षमा करिब पौने ६ अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ।
गत भदौ ३१ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आएको कार्यालयले चैत ७ गतेसम्म ५ अर्ब ७१ करोड १० लाख रुपैयाँ राजस्व उठाएको भन्सार प्रमुख रमेश खड्काले जानकारी दिए।
उक्त अवधिमा नाकाबाट १२ अर्ब १७ करोड रुपैयाँ बराबरको मालवस्तु आयात भएको छ भने २० करोड ३० लाख रुपैयाँ बराबरको वस्तु चीनतर्फ निर्यात भएको जनाइएको छ।
भन्सार कार्यालयका अनुसार हालसम्म कोरलानाकाबाट २ हजार ३४७ वटा विद्युतीय सवारीसाधन भित्रिएका छन् भने १ हजार ८०४ वटा मालवाहक कन्टेनरको भन्सार जाँचपास सम्पन्न भएको छ।
गत असार र साउनमा पहिरोका कारण रसुवागढी नाका र तातोपानी नाका बन्द भएपछि कोरलानाकालाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिएको थियो। त्यसपछि भन्सार विभागले नाकालाई पूर्ण रुपमा सञ्चालनमा ल्याएको हो।
पहिले वार्षिक १०–१५ लाख रुपैयाँ मात्र राजस्व सङ्कलन हुने यस नाकाबाट असोजयता उल्लेखनीय आम्दानी हुन थालेको कार्यालयले जनाएको छ।














