खानी तथा भूगर्भ विभागद्वारा १६ प्रकारका खनिज उत्खनन अनुमति, १६६ कम्पनीलाई इजाजत

Image

खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु तथा पत्थरलगायत १६ प्रकारका खनिजजन्य वस्तुको उत्खननका लागि अनुमति दिएको जनाएको छ। स्वदेशमै उपलब्ध खनिज सम्पदाको अन्वेषणमार्फत औद्योगिक उत्पादन वृद्धि र आर्थिक विकास गर्ने उद्देश्यले विभागले यस्तो इजाजत प्रदान गरेको हो।

विभागका अनुसार गत आर्थिक वर्षसम्म टुर्मालिन, टल्क, क्वार्ज, काइनाइट, मार्बल, फलाम, जिङ्क, क्वार्जजाइट, म्याग्नेसाइट, डोलोमाइट र तामालगायत खानीहरूको उत्खननका लागि अनुमति दिइएको छ। प्रक्रिया पूरा गरेका निजी तथा स्वदेशमा दर्ता भएका अन्तरराष्ट्रिय संलग्नता भएका १६६ संस्थालाई खानी सञ्चालनको इजाजत प्रदान गरिएको सूचना अधिकारी नारायण बाँस्कोटाले जानकारी दिए।

विभागले खानी अनुमति प्रदान गर्दा वातावरणीय प्रभाव मूल्याङ्कनलाई प्राथमिकता दिँदै स्थानीय लाभ सुनिश्चित गर्ने, उत्पादनअनुसार राजस्व सङ्कलन हुने तथा दर्ता प्रक्रिया पूरा भएका प्रस्तावलाई मात्र स्वीकृति दिने व्यवस्था अपनाएको जनाएको छ।

हालसम्म करिब एक सय चुनढुङ्गा खानीले उत्खनन अनुमति प्राप्त गरिसकेका छन्। तर भौगोलिक विकटता, यातायातको अभाव, आधुनिक प्रविधि र पर्याप्त पुँजीको कमीका कारण देशमा खनिज सम्पदाको अपेक्षित विकास हुन नसकेको विभागको भनाइ छ।

पूर्वाधार अभाव, विस्तृत अन्वेषणको कमी, वातावरणीय जोखिम, महँगो उपकरण तथा लगानीमैत्री वातावरण नबन्नु जस्ता कारणले खनिज उत्खनन क्षेत्र चुनौतीपूर्ण बनेको छ। धेरैजसो खानी दुर्गम र भिरालो क्षेत्रमा रहेकाले उत्खननसँगै ढुवानी पनि जटिल रहेको जनाइएको छ।