सङ्घीय संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ कार्यक्रमका लागि तयारी तीव्र बनाएको छ। सचिवालयले चैत ५ गते सूचना जारी गर्दै निर्वाचित सांसदलाई शपथ कार्यक्रममा सहभागी हुन आह्वान गरिसकेको छ।
शपथ समारोह चैत १२ गते अपराह्न २ बजे आयोजना हुने तय भएको छ। कार्यक्रममा सहभागी हुन सांसदहरुलाई निर्धारित समयभन्दा दुई घण्टा अगावै औपचारिक वा आफ्नो सांस्कृतिक पहिचान झल्किने पोसाकमा उपस्थित हुन अनुरोध गरिएको छ।
यसअघि रामचन्द्र पौडेलसमक्ष प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले चैत ११ गते शपथ लिने कार्यक्रम छ। त्यसपछि केसीले नै चैत १२ गते अन्य नवनिर्वाचित सांसदहरुलाई शपथ गराउनेछन्।
नेपालको संविधानको धारा ८८ अनुसार सांसदले सदन वा समितिको बैठकमा सहभागी हुनुअघि शपथ लिनुपर्ने व्यवस्था छ। त्यस्तै धारा ९१ (५) ले सभामुख र उपसभामुख नभएको अवस्थामा ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने व्यवस्था गरेको छ।
शपथपछि सांसदहरुलाई प्रतिनिधिसभा सदस्यको प्रतीक चिह्न, संविधान, संसद् नियमावली तथा सेवा–सुविधासम्बन्धी सामग्री उपलब्ध गराइने सचिवालयले जनाएको छ।
सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा शपथ र प्रारम्भिक बैठक गर्ने तयारी गरिएको छ। भौतिक संरचना निर्माण सम्पन्न भइसकेको र प्राविधिक काम अन्तिम चरणमा रहेको उनले बताए।
निर्वाचनपछि संसद्मा दलहरूको शक्ति सन्तुलन परिवर्तन भएसँगै सचिवालयले संसदीय दलका कार्यालय पनि सोहीअनुसार व्यवस्थापन गरेको जनाएको छ। नयाँ संसद् भवन निर्माण सम्पन्न भएपछि सबै दलका कार्यालय र सांसदका व्यक्तिगत ‘चेम्बर’ त्यहीँ व्यवस्थापन गरिनेछ।
















