सेयर बजारमा सुधार तर कारोबार रकममा कमी

Image

सोमबार दिनभर उतारचढावमा रहेको सेयर बजार अन्ततः बढेर बन्द भएको छ। NEPSE परिसूचक अघिल्लो दिनको तुलनामा ५.०१ अंकले बढ्दै २९३६ बिन्दुमा कायम भएको हो।

दिउँसो २:३४ बजे २९११ अंकसम्म झरेको बजार अन्तिम समयमा सुधार हुँदै उकालो लागेको हो।

यद्यपि, कारोबार रकम भने घटेको छ। अघिल्लो दिन २३ अर्ब ५९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार १५ अर्ब ७८ करोड रुपैयाँमा सीमित भएको छ। १०२ कम्पनीको शेयर मूल्य बढ्दा १५४ कम्पनीको घटेको र ८ कम्पनी स्थिर रहेका छन्।

समूहगत सूचकतर्फ उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.५३ प्रतिशतले बढेको छ। यस्तै फाइनान्स ०.२०, हाइड्रोपावर ०.९६, लगानी ०.७२, माइक्रोफाइनान्स ०.४३ र अन्य समूह सामान्य बढेका छन्।

त्यसैगरी बैंकिङ ०.२७, विकास बैंक ०.५०, होटल तथा पर्यटन ०.८६, जीवन बीमा ०.४८, निर्जीवन बीमा ०.०४ र व्यापार समूह ०.५९ प्रतिशतले घटेका छन्।

आज ६ कम्पनीको शेयर मूल्यमा १० प्रतिशत वृद्धि भएको छ। तीमध्ये रिलायन्स स्पिनिङ मिल्स, साल्पा विकास बैंक, सोलु हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, मनकामना इन्जिनियरिङ हाइड्रोपावर र होटल फरेस्ट इन रहेका छन्।

यस्तै फर्स्ट माइक्रोफाइनान्सको ८.९६, आशा लघुवित्तको ८.८२ र मेरो माइक्रोफाइनान्सको ८.१८ प्रतिशतले मूल्य बढेको छ।

सबैभन्दा धेरै गिरावट सिन्धु विकास बैंकको ३.२३ प्रतिशतले भएको छ।

कारोबार रकमका आधारमा कुमारी बैंक, शिवम् सिमेन्ट, नेसनल हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर र ङादी ग्रुप पावर अगाडि रहेका छन्।