हिंसापीडित महिलाका लागि न्यायको माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोग परिसरमा नाराबाजी गरेका छन्।
‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंसा अन्त्य गर’, ‘महिला आयोग किन चुप् ?’, ‘इनिशा विक र रेश्मिका परियारलाई न्याय देऊ’ जस्ता नारासहित उनीहरूले विरोध प्रदर्शन गरेका हुन्।
सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या घटनाको शीघ्र छानबिन गर्न तथा खोटाङकी रेश्मिका परियारको घटनामा संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गर्न पीडित परिवारले माग गरेका छन्।
यसअघि माइतीघर मण्डलामा धर्ना दिँदा पनि सुनुवाइ नभएको भन्दै उनीहरूले महिला आयोगको ध्यानाकर्षण गराएका हुन्।
पीडित पक्षको आन्दोलनमा खोटाङ सेवा समाजले ऐक्यबद्धता जनाएको छ। संस्थाका सचिव नवराज रोकाले पीडितले छिटो न्याय पाउनुपर्ने र दोषीलाई कडा सजाय हुनुपर्ने बताए।
















