अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको बढ्दो तनाव कम गर्नका लागि योजना गरिएको सैन्य आक्रमण पाँच दिनका लागि स्थगित गर्ने घोषणा गरेका छन्।
उनले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै पछिल्ला दुई दिनमा अमेरिका र इरानबीच मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने विषयमा सकारात्मक र फलदायी कुराकानी भएको जानकारी दिएका छन्।
ट्रम्पले इरानका पावर प्लान्ट र ऊर्जा पूर्वाधारमा हुने भनिएका सबै सैन्य हमलालाई पाँच दिनका लागि रोक्न निर्देशन दिएका छन्। उनले भने, “दुवै पक्षबीच भइरहेको गम्भीर र विस्तृत छलफलका आधारमा यो निर्णय लिइएको हो।”
यसअघि उनले ४८ घण्टाभित्र इरानले होर्मुज जलमार्ग नखोलेमा ऊर्जा केन्द्रहरूमा हमला गर्ने चेतावनी दिएका थिए। त्यसको जवाफमा इरानले पनि आफूमाथि हमला भए पश्चिम एसियाका संवेदनशील पूर्वाधारमा कडा जवाफी कारबाही गर्ने चेतावनी दिएको थियो।
ट्रम्पले जारी वार्ता सफल भए आगामी कदम चालिने स्पष्ट पारेका छन्। दुई देशबीचको वार्ता यसै हप्ताभरि जारी रहने र तनाव पूर्ण रूपमा समाधान हुने अपेक्षा गरिएको छ।
















