प्रहरीलाई बिहान ७ बजेबाटै बर्दीमा रहन हेडक्वार्टरको सर्कुलर

Image

नेपाल प्रहरीका प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मलाई चुस्ता पोसाक (बर्दी) मा तयारी अवस्थामा बस्न निर्देशन दिइएको छ। नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले राजधानीसहित विभिन्न इकाइमा कार्यरत प्रहरीहरूलाई भोली बिहान ७ बजेदेखि नै बर्दीमा ‘स्ट्यान्डबाई’ बस्न सर्कुलर जारी गरेको हो ।

प्रहरी जवानदेखि एसएसपी तहसम्मका सबै प्रहरी कर्मचारीलाई चुस्ता पोसाकमा तयारी अवस्थामा रहन भनिएको छ। सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै यस्तो तयारी गर्न निर्देशन दिइएको बताइएको छ।

यसअघि शुक्रबार साँझ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल पनि सहभागी भएका थिए।

उक्त छलफलमा समसामयिक सुरक्षा अवस्था, सरकारका निर्णयहरूको कार्यान्वयन तथा सुरक्षा निकायको तयारीका विषयमा छलफल भएको थियोे। गृहमन्त्रीसँगको छलफल लगत्तै प्रहरी प्रधान कार्यालयले प्रहरी कर्मचारीलाई तयारी अवस्थामा बस्न सर्कुलर जारी गरेको बताइएको छ।

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ नेतृत्वमा बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले पनि जेनजी आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सरकारी प्रवक्ता सस्मित पोखरेलका अनुसार सुरक्षा निकायसँग सम्बन्धित विषयमा थप अध्ययन गर्न समिति गठन गरिनेछ भने अन्य सिफारिसहरू सिधै कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाइने छन्।

प्रतिवेदनअनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङविरुद्ध फौजदारी लापरबाहीको कसुरमा अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरिएको छ।

प्रतिवेदनमा उल्लेख छ कि उक्त कसुर मुलुकी अपराध संहिता, २०७४ को दफा १८१ अनुसार छ। सो दफामा भनिएको छ, ‘कसैले लापरबाहीपूर्ण काम गरी कसैको ज्यान मार्न हुँदैन।’ यदि कसुर प्रमाणित भएमा तीनदेखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।

सरकारको निर्णयसँगै, ओली र लेखकविरुद्ध अनुसन्धान प्रक्रिया सुरु गर्ने बाटो खुलेको छ। तर, खापुङ सुरक्षाकर्मी भएकाले उनको विषयमा अनुसन्धान अघि बढाउन सुरक्षा निकायसँग सम्बन्धित थप अध्ययनपछि मात्र निर्णय गरिने छ।

यी हुन् आयोगले कारबाही सिफारिस गरेका व्यक्तिहरू :

राजनीतिक नेतृत्व

  • केपी शर्मा ओली – तत्कालीन प्रधानमन्त्री
  • रमेश लेखक – तत्कालीन गृहमन्त्री

आईजीपी

  • चन्द्रकुवेर खापुङ – तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी)

(उनीहरूले ‘फौजदारी लापरबाही’ तथा जिम्मेवारीबाट पन्छिएको कसूर गरेको आयोगको ठहर)

प्रशासनिक तथा सुरक्षा निकायका उच्च अधिकारी
  • गोकर्णमणि दुवाडी – तत्कालीन गृह सचिव
  • राजु अर्याल – तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक
  • हुतराज थापा – तत्कालीन प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग
  • छविराज रिजाल – तत्कालीन प्रमुख जिल्ला अधिकारी (प्रजिअ), काठमाडौँ
नेपाल प्रहरीका अधिकारीहरू
  • सिद्धिबिक्रम शाह – प्रहरी अतिरिक्त महानिरीक्षक, कार्य विभाग प्रमुख
  • ओमबहादुर राना – प्रहरी नायव महानिरीक्षक, तत्कालीन कार्यवाहक प्रमुख, रानीपोखरी
  • विश्व अधिकारी – प्रहरी वरिष्ठ उपरीक्षक, तत्कालीन प्रमुख, काठमाडौँ प्रहरी परिसर
  • दीप शम्शेर जबरा – प्रहरी वरिष्ठ उपरीक्षक, रानीपोखरी
  • ऋषिराम कँडेल – प्रहरी उपरीक्षक, विशेष कार्यदल
  • दानबहादुर कार्की – प्रहरी अतिरिक्त महानिरीक्षक (हतियार सुरक्षामा ध्यान नपुर्‍याएको तथा सरुवासम्बन्धी विषयमा)
सशस्त्र प्रहरी बलका अधिकारीहरू
  • नारायणदत्त पौडेल – सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, तत्कालीन अपरेशन कमाण्डर
  • सुरेश कुमार श्रेष्ठ – सशस्त्र प्रहरी नायव महानिरीक्षक, वाहिनीपति
  • जीवन केसी – सशस्त्र प्रहरी उपरीक्षक, विपद् उद्धार
राष्ट्रिय अनुसन्धान विभाग
  • कृष्णप्रसाद खनाल – सह–निर्देशक, उपत्यका अभियान महाशाखा
  • रिबेन कुमार गच्छदार – सह–अनुसन्धान निर्देशक, काठमाडौँ जिल्ला प्रमुख
नेपाली सेनाका अधिकारीहरू
  • मनोज बैदवार – सहायक रथी, राष्ट्रपति भवन (शीतल निवास) सुरक्षा टोली प्रमुख
  • दिवाकर खड्का – प्रमुख सेनानी, प्रधानमन्त्री निवास (बालुवाटार) सुरक्षा टोली प्रमुख
  • गणेश खड्का – प्रमुख सेनानी, सिंहदरबार सचिवालय सुरक्षा टोली प्रमुख
  • सन्तोष ढुङ्गेल – सेनानी, संसद् भवन तथा बानेश्वर क्षेत्र सुरक्षा टोली प्रमुख
अन्य

टीओबी ग्रुप – मोटरसाइकलमा आएका व्यक्तिहरूको समूह, भीड उक्साउने र शान्ति भङ्ग गर्ने गतिविधिमा संलग्न भएको आरोप।
(मुलुकी फौजदारी संहिताको दफा ३५ अनुसार छानबिन गर्न आयोगको सिफारिस)