सरकारले विवादास्पद व्यवसायी दीपक भट्टलाई पक्राउ गर्ने तयारी गरेको छ। सम्पती शुद्धिकरणको अनुसन्धानका लागि भट्टलाई पक्राउ गर्ने तयारी भएको हो । अध्यागमन विभागले उनलाई कालोसुचीमा राखेर पासपोर्ट रोक्का गरिसकेको छ, जसले उनको विदेश आवागमनमा रोक लगाएको छ। सम्पत्ति शुद्धीकरण कसुरमा विस्तृत अनुसन्धानका लागि पक्राउ गर्ने तयारी भएको बुझिएको छ ।
भट्टमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी गम्भीर आरोपहरू लागेका छन्। नेपाल राष्ट्र बैंकले उनको करोडौँ रुपैयाँ बराबरको शंकास्पद बैंकिङ कारोबार फेला पारेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुसन्धानका लागि पत्राचार गरेको थियो। तर, त्यस समयमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा अनुसन्धान प्रभावित भएको चर्चा चलेको थियो । विभाग प्रधानमन्त्री कार्यालयअन्तर्गत रहेको बेला ‘सम्बन्धित नियमनकारी निकायबाटै कारबाही हुनुपर्ने’ भन्दै अनुसन्धानको फाइल बन्द गरिएको थियो ।
३० वैशाख ०८२ मा भट्टविरुद्ध राष्ट्र बैंकबाटै कारबाही गर्नुपर्ने निष्कर्षसहित फाइल टुंग्याइएको थियो। प्रारम्भिक छानबिनमै भट्ट र उनका परिवारका खातामा अस्वाभाविक तथा स्रोत नखुलेको कारोबार भेटिएको छ। बालेन नेतृत्वको अहिलेको सरकारले उक्त प्रकरण पुनः सक्रिय बनाउँदै भट्टविरुद्ध कानुनी प्रक्रिया अघि बढाउने तयारीमा देखिएको छ।
विवादास्पद व्यापारी भट्ट इन्फिनिटी होल्डिङस्का प्रमुख हुन् । ‘सत्ता–शक्ति’मा रहेका दलका नेता, सार्वजनिक ओहोदाधारी पदाधिकारी तथा कर्मचारीलाई ‘हातमा लिएर’ ठूला सार्वजनिक खरिदका ठेक्का, जलविद्युत्, बैंक/बिमालगायत कम्पनीका लाइसेन्स हात पार्नेदेखि वार्षिक बजेटमा समेटिने करका दर हेरफेरसम्मका संदिग्ध गतिविधिमा संलग्न रहेको उनीमाथि आरोप लाग्दै आएको छ ।
















