केपी ओली र रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकियो, आदेश आजै आउने

Image

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्च अदालतमा बहस सकिएको छ। बहस सकिएसँगै आजै संक्षिप्त आदेश आउने इजलासले जनाएको छ।

ओलीको तर्फबाट उनकी पत्नी राधिका शाक्य र लेखकको तर्फबाट पत्नी यशोदा लेखकले दायर गरेको रिट निवेदनमा आइतबारदेखि सुनुवाइ अघि बढेको थियो। हेर्दाहेर्दैमा राखिएको उक्त निवेदनमा सोमबार गृह मन्त्रालय लगायत विपक्षी निकायको तर्फबाट महान्यायाधिवक्ताको कार्यालयले बहस गरेको थियो। त्यसपछि निवेदक ओली र लेखकका तर्फबाट गरिएको जवाफी बहस पनि सकिएको छ।

न्यायाधीश विनोद शर्मा र सुनील कुमार पोखरेलको इजलासमा सुनुवाइ भएको उक्त निवेदनमा अदालतले यसअघि विपक्षीहरूसँग लिखित जवाफ मागेको थियो। सबै पक्षबाट लिखित जवाफ प्राप्त भएपछि आइतबारका लागि पेशी तोकिएको थियो।

गत चैत १४ गते ओली र लेखकलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ। जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा उनीहरूमाथि ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको हो।

उक्त आयोगको प्रतिवेदनमा उल्लेखित अन्य व्यक्तिहरूको हकमा भने थप अनुसन्धानपछि मात्रै प्रतिवेदन कार्यान्वयन गर्ने वा नगर्ने विषयमा निर्णय हुने जनाइएको छ।