फोन विवादले उग्र रूप लिँदा पाटन दरबारमा दाजुभाइको हत्या

Image

ललितपुरको ऐतिहासिक पाटन दरबार स्क्वायर क्षेत्रमा छुरा प्रहारबाट दुई युवकको हत्या भएको छ। झापा घर भई हाल ललितपुर बस्दै आएका ३३ वर्षीय सुमित नेम्वाङ र उनका २५ वर्षीय भाइ सिर्जन नेम्वाङको मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ।

ललितपुर जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार हत्यामा संलग्न सञ्जीव नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानअनुसार घटनाको सुरुवात फोनमा भएको सामान्य विवादबाट भएको थियो।

प्रहरीका अनुसार सिर्जन नेम्वाङले अर्कै व्यक्तिको नम्बर सम्झेर फोन डायल गर्दा सञ्जीव नेपालीको नम्बरमा फोन पुगेको थियो। सोही विषयमा उनीहरूबीच फोनमै भनाभन भएको थियो। पछि भेटेरै कुरा गर्ने भन्दै दुवै पक्ष बुधबार दिउँसो करिब ४ बजेतिर पाटन दरबार स्क्वायरमा जम्मा भएका थिए।

भेटका क्रममा विवाद चर्किँदा सञ्जीव नेपालीले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ। छुरा प्रहारबाट गम्भीर घाइते भएका दाजुभाइलाई तत्काल उपचारका लागि बिएन्डबी अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा दुवैको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

घटना घटेको केही मिनेटमै प्रहरीले अभियुक्तसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।