विद्यार्थीलाई ४५% भाडा छुट अनिवार्य लागू गर्न सरकारको निर्देशन

Image

सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई दिँदै आएको ४५ प्रतिशत भाडा छुट सुविधा अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ।

यातायात व्यवस्था विभागले यातायात व्यवसायीहरूलाई पत्राचार गर्दै कानुनअनुसारको सहुलियत लागू गर्न पुनः ताकेता गरेको हो। विभागका अनुसार २०६५ फागुन २० गते सरकार र व्यवसायीबीच भएको सहमतिअनुसार विद्यार्थीहरूले सवारी भाडामा ४५ प्रतिशत छुट पाउने व्यवस्था छ।

तर पछिल्लो समय सार्वजनिक सवारीसाधनले उक्त छुट नदिएको भन्दै हेलो सरकार तथा विभागमा व्यापक गुनासो आएपछि यो निर्देशन जारी गरिएको हो।

विभागका निर्देशक गणेशमान सिंह राईद्वारा जारी पत्रमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ र साझा यातायातलाई विद्यार्थी सहुलियत प्रभावकारी रूपमा लागू गर्न अनुरोध गरिएको छ।

विभागले कानुनअनुसारको सुविधा नदिएमा आवश्यक कारबाही हुन सक्ने चेतावनी समेत दिएको छ।