आपत्‌कालीन खाद्यान्न जोहो गर्न आफ्ना नागरिकलाई बेलायतको आग्रह

Image

बेलायत सरकारले आफ्ना नागरिकहरूलाई आपत्‌कालीन अवस्थाका लागि आवश्यक सामग्री भण्डारण गर्न आग्रह गरेको छ । सञ्चारमाध्यमका रिपोर्टअनुसार यूके सरकारले यस्तो आग्रह गरेको हो ।

नयाँ सार्वजनिक सूचना अभियानमार्फत तीव्र मौसमी प्रतिकूलता, साइबर आक्रमण तथा विदेशी राज्यका शत्रुतापूर्ण गतिविधिबाट उत्पन्न हुन सक्ने जोखिमका लागि पूर्वतयारी गर्न प्रोत्साहित गरिने बताइएको छ ।

यसको उद्देश्य बिजुली वा खानेपानीको आपूर्ति ठप्प हुने, पसलहरू बन्द हुनेलगायत संकटका बेला सुरक्षित रहन अपनाउन सकिने उपायबारे नागरिकलाई जानकारी गराए ।

राष्ट्रिय विपद्का बेला मानिसहरूलाई संकट सामना गर्न सक्षम बनाउनु र अति संवेदनशील वर्गका लागि आवश्यक स्रोत उपलब्ध गराउन सहज बनाउनु सरकारको लक्ष्य रहेको बताइएको छ ।

के–के भण्डारण गर्न सक्छन् ?

डिब्बामा राखिएको खाना र बोतलको पानीजस्ता आवश्यक सामग्री भण्डारणको आग्रह गरिएको छ ।

मौसमविद्हरूले एक हजार वर्षयताकै सबैभन्दा ठूलो ‘एल निनो’को सम्भावना औँल्याएपछि वातावरणमन्त्री एन्जेला इगलले घरमा आवश्यक उपभोग्य सामग्री भण्डारण गर्न जोड दिएकी हुन् ।

एल निनोका कारण आउन सक्ने बढी ओसिलो हिउँद र सुक्खा यामबारे ‘द गार्डियन’सँग कुरा गर्दै मन्त्री इगलले आपत्‌कालीन सेवाहरू पुग्नुअघि केही समय धान्न सक्ने गरी घरमा केही खाद्यान्न भण्डार भए निकै सुरक्षित हुने बताइन् । त्यसैलै थप उत्थानशील र पूर्वतयारीयुक्त बन्नका लागि यो कदम चालिएको उनको भनाइ छ ।

फाइनान्सियल टाइम्सका अनुसार, एक स्रोतले घरेलु उत्थानशीलता बढाउन केही बोतल पानी र प्याक गरिएको खाना राख्नेजस्ता व्यावहारिक उपायबारे सल्लाह दिइने बताएको छ । तर, यो त्रास फैलाउने खालको नभएको बताइएको छ ।

खतरा केमा ?

रिपोर्टहरूमा प्रधानमन्त्री एन्डी बर्नहाम नेतृत्वको सरकारले रुसबाट उत्पन्न खतराबीच राष्ट्रिय उत्थानशीलतामा ध्यान केन्द्रित गरिरहेको बताइएको छ ।

गर्मीयाममा अत्यधिक गर्मीका कारण देशका विभिन्न क्षेत्रमा सुक्खा हुनु र डढेलो फैलिन थालेपछि सरकारको चिन्ता थप बढेको छ ।

‘फाइनान्सियल टाइम्स’का अनुसार, सरकारले बाह्य खतराबाट देशको रक्षा गर्ने निर्देशिका अर्थात् ‘वार बुक’लाई अद्यावधिक गर्ने काम तीव्र बनाएको छ ।

यसका साथै, तीव्र मौसमी घटनाका प्रभावसँग जुध्न नागरिकलाई सहयोग गर्ने सल्लाहसहित सामाजिक सञ्जाल अभियान पनि सञ्चालन गरिरहेको छ ।

सरकारले गत महिना राष्ट्रिय जोखिम रजिस्टरसमेत अद्यावधिक गरेको थियो, जसमा बेलायतको प्रजातान्त्रिक प्रक्रियामा बाह्य हस्तक्षेपको जोखिम पनि थपिएको छ ।

यद्यपि, यो परिवर्तन रुसले युक्रेनबाट रुसविरुद्ध दूरगामी प्रहार गर्न प्रयोग गरिए बेलायतका सुविधालाई ‘वैध निशाना’ मानिने चेतावनी दिएको केही समयपछि आएको हो ।

रुस-युक्रेन युद्धमा बेलायतले युक्रेनलाई सहयोग गरेको भन्दै रुसले असन्तुष्टि जनाउँदै आएको छ । यसै सन्दर्भमा रुसले मस्कोस्थित बेलायती नियोगकी उपप्रमुखलाई स्पष्टीकरणका लागि बोलाएको थियो । जसमा ‘प्रतिशोधात्मक कदम’ चाल्न सक्ने चेतावनी दिएको थियो ।

एक वर्ष (सन् २०२६ अगस्ट) मा बेलायती रक्षा मन्त्रालय क्षेत्र आसपास ड्रोनसँग सम्बन्धित ३४० सुरक्षा घटना दर्ता भएका छन् । सन् २०२५ मा २५० यस्ता घटना दर्ता भएका थिए, त्यसअघिको वर्षमा १२६ घटनाको दर्ता भएका थिए ।

अत्यधिक गर्मी चिन्ताको विषय

विश्लेषकहरूले अत्यधिक गर्मी र सुक्खाका कारण बेलायत दशकौँयताकै गम्भीर खाद्य सुरक्षा संकटको जोखिममा पर्न सक्ने चेतावनी दिएका छन् ।

लगानी बैंक ‘सोर क्यापिटल’का विश्लेषकहरूका अनुसार, लगातार पाँचपटक आएको अत्यधिक गर्मी र लामो सुक्खाको प्रभावले किसानका बालीनाली नष्ट गर्न सक्नेछ । यसले यसै वर्षको उत्तरार्धमा खाद्यान्न अभाव सिर्जना गर्नुका साथै विदेशी आयातमा निर्भरता बढाउन सक्ने उनीहरूको आकलन छ ।

‘नेसनल फार्मर्स युनियन’ले अवस्था दिनप्रतिदिन चिन्ताजनक बन्दै गएको बताउँदै घाँस उम्रिन छाडेपछि दुग्ध किसानहरूले अहिल्यैदेखि हिउँदे दाना प्रयोग गर्न थालेको चेतावनी दिएको छ ।