आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना

Image

प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धनमा जोड दिँदै नेपालका पत्रकारहरूले पनि आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदैछन् । सन् १९९३ को संयुक्त राष्ट्रसङ्घको साधारण सभाले अनुमोदन गरेपछि यो दिन संसारभरि प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो ।

हरेक वर्षको मे ३ तारिखमा विश्वभरि सञ्चारका माध्यमहरूको स्वतन्त्रताका मुद्दा, मापदण्ड र महत्त्वको विषयमा पैरवी अनि बहस गरिँदै समाचार सङ्कलनका क्रममा जोखिममा परेका र ज्यान गुमाएका पत्रकारहरूको योगदानको सम्झना र सम्मान गर्दै मनाइन्छ ।

संयुक्त राष्ट्र सङ्घीय युनेस्कोको आह्वानमा यो दिवस मनाइने क्रमको सुरुआत भएको हो । प्रेस स्वतन्त्रता सञ्चारमाध्यमको मात्र मुद्दा नभई समग्र समाज र लोकतान्त्रिक प्रणालीको अभिन्न विषय भएको बताउँदै पत्रकारहरूले यसको संरक्षणका लागि नीतिगत, कानुनी र संरचनागत सुदृढीकरणको माग पनि गरेका छन् ।

यसै अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक सक्रिय भई आमनागरिकलाई सत्य सूचना सम्प्रेषित गर्न सधैँ सफलता प्राप्त होस्’ भनी शुभकामना दिएका छन् ।

प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएकाले लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनमा प्रेसको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले प्रेस स्वतन्त्रता नागरिकको सुसूचित हुन पाउने संवैधानिक हक कार्यान्वयन गर्न पनि उत्तिकै महत्त्वपूर्ण हुने र प्रेस जति निष्पक्ष, स्वतन्त्र र सबल हुन्छ, लोकतान्त्रिक व्यवस्था पनि त्यति नै सुदृढ हुँदै जाने जनाएका छन् ।

राष्ट्रपति पौडेलको शुभकामना सन्देशमा भनिएको छ, “प्रेस स्वतन्त्रता सुनिश्चित गर्दै पत्रकारलाई सञ्चार कार्य गर्नका लागि सुरक्षित वातावरण हुनु पर्दछ, हाम्रो संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूत गरेको छ । सूचना सङ्कलनदेखि प्रवाह गर्ने प्रक्रियासम्म स्वतन्त्र एवं निर्वाध रूपमा संलग्न भई समाचार सम्प्रेषण गरी सबै वर्ग एवं समुदायको आवाज मुखरित हुनुपर्दछ ।”

त्यस्तै, उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सञ्जालमार्फत विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना दिदैं संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता पत्रकार वा सञ्चारकर्मीको अधिकारमात्र नभई सत्य जान्ने, विचार अभिव्यक्त गर्ने र विवेकपूर्ण निर्णय गर्ने सम्पूर्ण नागरिकको साझा अधिकार भएको बताएका छन् ।

शुभकामना सन्देशमा भनिएको छ, “नेपालको सन्दर्भमा, यहाँका पत्रकारहरूले कठिन परिस्थितिमा पनि सत्य उजागर गर्ने साहस देखाएका छन्, तर आर्थिक दबाब, राजनीतिक हस्तक्षेप र सामाजिक सञ्जालमा फैलिने गलत सूचनाले प्रेससामु थप परिमार्जित, व्यवस्थित र संयमित भई प्रस्तुत हुनुपर्ने चुनौती छ, यी चुनौतीलाई सामना गर्न संविधानमा निहित प्रेस स्वतन्त्रताको व्यवस्था हाम्रो मार्गदर्शन हो ।”

नेपालको संविधानले प्रेस स्वतन्त्रतालाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले स्वतन्त्र प्रेस लोकतन्त्रको मेरुदण्ड भएको बताएका छन् ।