जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनाएका छन् । राउतले आज सामाजिक सञ्जालमा असन्तुष्टि जनाउँदै सरकारलाई तत्काल आफ्नो बाटो सच्च्याउन चेतावनी दिएका छन्।
राउतले लेखेका छन्,‘विकास भनेको सर्वप्रथम हरेक जनताले खुट्टा टेक्ने र ओत लाग्ने ठाउँ हुनु, भोको र नाङ्गो कोही नहुनु, शिक्षा, स्वास्थ्य र रोजगारीमा पहुँच हुनु र समान अधिकार, पहिचान र सम्मान हुनु हो। ब्रान्डेड शपिङ्ग गरेको झोला हल्लाउँदै हिँड्ने चिल्ला फुटपाथ, पैदल यात्रु देख्न नसक्ने चौडा सडक, नवधनाढ्यले ब्रान्डेड जुत्ता देखाउँदै जगिंग गर्ने नदी किनारहरू, र गरीब मजदूर सीमान्तकृत गाउँलेहरू धपाइएको राजधानी होइन।’
सेना, बन्दुक, सत्ता, एल्गोरिद्म, लाइक्स, कमेन्ट र भ्यूज वा शक्ति केन्द्रको भरमा जनताभन्दा माथि हुने भ्रम नपाल्न उनले सरकारलाई सुझाव दिएका छन् ।












