बागलुङ नगरपालिकाको आयोजना र एकीकृत सेवा कार्यालयको सहयोगमा शिक्षकहरूका लागि तीनदिने आधारभूत मानसिक स्वास्थ्य तथा मनोबिमर्श सम्बन्धी तालिम आइतबारदेखि सुरु भएको छ।
तालिममा जिल्लाका ४१ विद्यालयका शिक्षकहरूको सहभागिता रहेको छ। तालिमको सहजीकरण वरिष्ठ मनोविद् किशोर थापाले गरिरहेका छन्।
कार्यक्रम उद्घाटन गर्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले घरायसी तथा सामाजिक वातावरण, शिक्षकको व्यवहार र शिक्षण–सिकाइ गतिविधिका कारण बालबालिका तथा किशोरहरूमा विभिन्न मनोवैज्ञानिक समस्या देखिने गरेको उल्लेख गरे। उनले सामान्यदेखि जटिल अवस्थासम्मका समस्या समाधानका लागि विद्यालयस्तरमै मनोबिमर्श सेवा आवश्यक भएको बताए।
उनका अनुसार पढाइमा ध्यान नजाने, विद्यालयमा अनुपस्थित हुने, पढाइ बीचमै छाड्ने, विषय लाग्ने, अनुशासनहीन व्यवहार, डर, चिन्ता, निराशा, तनाव, दुर्व्यसन, बालविवाह तथा आचरणजन्य समस्या बढ्दै गएकाले यसको समाधानका लागि मनोपरामर्श प्रभावकारी माध्यम हुने विश्वास व्यक्त गरे।
तालिम पश्चात् बागलुङ नगरपालिकाभित्रका माध्यमिक विद्यालयहरूमा विद्यार्थी मनोपरामर्श कक्षा सञ्चालन गरिने उपप्रमुख खड्काले जानकारी दिए। तालिमको संयोजन ‘खुशी मन बागलुङ’ले गरेको छ।














