बीपी राजमार्ग फेरि बन्द

Image

काभ्रेपलाञ्चोकस्थित बीपी राजमार्गमा पुनः सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ । कुशादेवी क्षेत्रमा लगातार वर्षा भई रोशी खोलामा पानीको सतह बढेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमन बन्द गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

सोमबार (वैशाख २१) बिहानदेखि त्यहाँ सवारी आवागमन रोकिएको हो । “खोलाको बहाव सामान्य भई सडकमार्गमा कुनै अवरोध नभएको अवस्थामा जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले अर्को सूचना प्रकाशन गरी बाटो सुचारु भएको जानकारी गराउनेछ,” प्रहरीको सूचनामा उल्लेख छ ।

विशेष गरी कटुन्जेदेखि मंगलटार सडकखण्डको घुमाउनेनजिक स्थानमा वर्षासँगै समस्या निम्तने गरेको छ । त्यहाँ रोशी खोलामा अस्थायी ‘डाइभर्सन’ बनाइएको छ । 

गत वर्ष असोजमा बाढीले उक्त क्षेत्रमा सडक बगाएको थियो । त्यसपछि खोलामा डाइभर्सन बनाएर त्यहीँबाट सवारी आवागमन गरिँदै आएको छ । गएको चैतमा पनि बाढीले सडक बगाएको थियो ।