कोशी प्रदेश सरकारविरुद्ध नेकपा एमालेले आज पुनः सर्वोच्च अदालतमा मुद्दा दायर गर्दैछ ।
गत सोमबार मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा संविधान मिचिएको भन्दै कोशी प्रदेश सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सर्वोच्च अदालत जान लागेको हो ।
सभामुखको हैसियतमा रहेका कांग्रेसका सांसद इस्राइल मन्सुरीले मुख्यमन्त्री थापालाई विश्वासको मत दिएपछि एमालेले त्यसको विरोध गर्दै आएको छ ।
संसद्को अध्यक्षता गरिरहेका व्यक्तिले मतदान गर्नु असंवैधानिक र प्रदेश सञ्चालन नियमावलीविपरीत भएको एमालेको दाबी छ ।
थापा नेतृत्वका गठबन्धन सरकार असंवैधानिक भएकाले त्यसलाई खारेज गरी ठूलो दलको हैसियतमा एमालेले सरकारको नेतृत्व गर्न पाउनुपर्ने माग एमालेको छ ।
सोही माग दाबीसहित आज सर्वोच्चमा रिट दायर गर्न लागिएको कोशी प्रदेश एमाले दलका उपनेता रामबहादुर राना मगरले जानकारी दिए ।
थापालाई मुख्यमन्त्रीको मान्यता नदिन प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र
नेकपा एमाले कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री थापालाई सभामुखले समेत विश्वासको मत दिएकाले मान्यता नदिन माग राख्दै प्रदेश प्रमुख परशुराम खापुंग समक्ष ज्ञापन पत्र बुझाएको छ ।
मुख्यमन्त्रीले विश्वासको मत लिन राखेको प्रस्तावको सम्बन्धमा प्रदेश सभाको बैठकमा मत विभाजन हुँदा सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले समेत विश्वासको मत दिएकाले संविधान विपरीत भएको भन्दै मान्यता नदिन एमालेले अनुरोध गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।
एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा संविधानको धारा १८६ का विपरीत मत विभाजनका लागि हस्ताक्षर गर्ने कार्य समाप्त भए पश्चात् र मत सच्याउन दिने ३ मिनेटको घण्टी बज्ने समय समेत समाप्त भए पछि मन्सुरीले विश्वासको मत दिन हस्ताक्षर गरेको उल्लेख छ ।
पत्रमा भनिएको छ, ‘सभाको अध्यक्षता गरी रहेका इस्राईल मन्सुरीले आफ्नो कुर्सी बाट उठी मत विभाजनका लागि राखिएको कागजमा जबरजस्ती हस्ताक्षर गरी संविधान र कानुनको ठाडो उल्लङ्घन गरेको ब्यहोरा जानकारी गराउन चाहन्छौ ।’















